
पाल्पा । घरको आँगनमा बालबालिकाको रुवाइ, सासू–ससुराको सेवा, भान्साको धुवाँ र खेतबारीको पसिनाबाट सुरु भएको एउटा जीवन यात्राले जब गाउँपालिकाको नेतृत्व सम्हाल्छ, त्यो केवल व्यक्तिगत सफलताको कथा हुँदैन । त्यो स्याहार, समर्पण र निरन्तर संघर्षले बनेको सामाजिक इतिहास बन्छ । माथागढी गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङचेको जीवन त्यसैको उदाहरण हो ।
खेतीपाती गरेर जीवन निर्वाह गर्ने परिवारमा २०३१ सालमा साविक गोठादी गाउँ विकास समिति–५ (हाल माथागढी गाउँपालिका–६ कासचौर) मा जन्मिनुभएकी विष्णुमाया चार दाजुहरूपछि कान्छी छोरीका रूपमा हुर्किनुभयो । पिता सूर्यबहादुर ढेंगामगर र आमा लालीकुमारी ढेंगाको काखमा हुर्कँदै गर्दा उहाँको बाल्यकाल खेलमैदानभन्दा बढी खेतबारी, घरधन्दा र पारिवारिक स्याहारमै बित्यो । “बुवा–आमा र दाजुहरूलाई सघाउँदै हुर्किएँ,” उहाँ स्मरण गर्नुहुन्छ ।
स्थानीय सातपोखरी निम्न माध्यमिक विद्यालयमा ७ कक्षासम्म र झडेवाको किसान माध्यमिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गर्नुभएकी विष्णुमायाको जीवनले १७ वर्षको कलिलो उमेरमै नयाँ मोड लियो । २०४९ सालमा सोमबहादुर लुङचेसँग विवाहपछि संघर्ष झनै बढ्यो । माइतमा बाँडिएको कामको जिम्मेवारी श्रीमानको घरमा आएपछि सम्पूर्ण रूपमा उहाँकै काँधमा आइप¥यो । बेरोजगार श्रीमान, सीमित स्रोत, बिहान २–३ बजेदेखि ढिकी–जातोको काम, भाले बास्नुअघि उठ्ने दैनिकी, आधा घण्टा हिँडेर पानी ल्याउने बाध्यता—यी सबैबीच पनि परिवारको हेरचाहमा उहाँ कहिल्यै कमजोर पर्नुभएन ।
“कमाउन पाए हुन्थ्यो” भन्ने चाहनाले उहाँलाई अघि बढायो । २०५१ सालमा साविक गाउँ विकास समितिमा उपस्वास्थ्य चौकी स्थापना भएपछि मातृ–शिशु स्वास्थ्य कार्यकर्ताको दरबन्दी खुल्यो । योग्यता पुगेपछि एक हजार रुपैयाँ तलबमा सरकारी सेवा प्रवेश गर्नुभएकी विष्णुमायाले करिब २८ वर्ष मातृ–शिशु स्वास्थ्य सेवामा बिताउनुभयो । घरधन्दा सकेर, सासूको मन जितेर, आधा घण्टा हिँडेर कार्यालय पुग्ने उहाँको दिनचर्या स्याहार र सेवाको अनुपम उदाहरण थियो ।
विवाहपछि आर्थिक अवस्था झनै कठिन भए पनि २०५९ सालमा श्रीमान सोमबहादुर युएईको अबुदाबी गएपछि परिवारको जीवनमा क्रमशः परिवर्तन आयो । श्रीमान परदेशमा पसिना बगाइरहँदा घर, सासूआमा र छोराहरूको सम्पूर्ण जिम्मेवारी विष्णुमायाकै काँधमा रह्यो । आज पनि उहाँ घरपरिवारको स्याहार र सामाजिक दायित्वलाई सन्तुलनमा राख्दै अघि बढिरहनुभएको छ ।
२०७९ सालमा सेवाबाट अवकाश लिएपछि उहाँ राजनीतिमा होमिनुभयो र अहिले माथागढी गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्दा सिकेको संवेदनशीलता, धैर्य र सहानुभूति अहिले जनप्रतिनिधिको भूमिकामा झन् प्रखर देखिन्छ । गाउँ–घरमा पुगेर दुःख–सुख साट्ने, समस्या सुन्ने र समाधान खोज्ने उहाँको बानीले विष्णुमायालाई ‘नेता’ भन्दा पनि ‘आफ्नो मान्छे’ बनाएको छ ।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदी भन्नुहुन्छ, “उहाँ उपाध्यक्ष मात्र होइन, गाउँको आशा, महिलाको प्रेरणा र समुदायको सारथी हुनुहुन्छ ।” अनुहारमा आत्मविश्वास, व्यवहारमा आत्मीयता र काममा दृढता—यी नै विष्णुमायाका पहिचान हुन् ।
मातृ–शिशु स्वास्थ्य सेवामा लामो अनुभव भएकी उहाँले महिलाको मौनता, छुवाछुत, लैंगिक हिंसा, गरिबी, शिक्षा अभावजस्ता समस्यालाई नजिकबाट बुझ्नुभएको छ । त्यसैले उपाध्यक्ष बनेपछि महिला सशक्तीकरण, उद्यमशीलता, सीप विकास, स्वास्थ्य–शिक्षा सुधार, कृषि र पर्यटनबाट रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुभएको छ । तीन छोराकी आमा विष्णुमायाले पारिवारिक स्याहारलाई कहिल्यै ओझेलमा पार्नुभएको छैन । उहाँका जेठा छोरा सन्दीपकुमार दुबईमा काम गर्नुहुन्छ । बुहारी पुष्पा थापा स्टाफ नर्स हुनुहुन्छ । माइलो छोरा मनिसकुमार डिप्लोमा इञ्जिनियरिङ सकेर बसेका छन् भने कान्छा छोरा विकल बुटवलमा कक्षा १२ मा अध्ययनरत छन् । “जिम्मेवारी कहिल्यै कम भएन,” उहाँ मुस्कुराउँदै भन्नुहुन्छ, “तर सन्तुलन मिलाउन सकेँ ।”
जीवनका संघर्षलाई सम्झँदै विष्णुमाया भन्नुहुन्छ “हेर्दा सरल लाग्ने मेरो जीवन भित्रबाट निकै कहालीलाग्दो थियो ।” तर आज ती संघर्षहरू समाजसेवाको ऊर्जा बनेका छन् । “अब बाँचुञ्जेल समाजसेवामै समर्पित हुन्छु,” उहाँको संकल्प स्पष्ट छ । घरको चुल्हो सम्हाल्दै समाजको नेतृत्वमा उभिन सफल विष्णुमायाको जीवनकथा पारिवारिक स्याहारले कसरी सार्वजनिक सेवामा रूपान्तरण हुन सक्छ भन्ने प्रेरणादायी उदाहरण हो । उहाँको यात्रा बताउँछ—घरको हेरचाहबाटै समाज बदल्ने शक्ति जन्मिन्छ । करुवा अर्धसाप्ताहिकमा प्रकाशित सामग्री








