
पाल्पा । तानसेन नगरपालिकाको निर्माणाधीन वनदेवी बसपार्कको काम कछुवा गतिमा अगाडि बढेको छ । अधिकांश विकासे आयोजनाहरू समयमै नसक्ने आरोप लाग्ने गरेको तानसेनले अन्य पूर्वाधार विकासका काममा जस्तै बसपार्क निर्माणमा पनि आरोप खेपेको हो । नगरपालिकाले गौरवको आयोजनाको रुपमा अगाडि सारेको बसपार्क निर्माणको काम ढिलाइ हुँदा गुनासो बढेको छ ।
नगरपालिकाले नगर विकास कोष संगको ऋण सहयोगमा निर्माण हुने बसपार्कको प्राविधिक डिजाइनका लागि कोषले ८० प्रतिशत अनुदान र नगरपालिकाको २० प्रतिशत साझेदारीमा कोष मातहतबाट सुपरभिजन हुनेगरी कन्सल्टेन्ट नियुक्त गरेर काम सुरु भएको थियो । सुरुमा डिजाइन परिर्वतनका कारण केही समय ढिला भएको निर्माण कार्य पछि निर्माण व्यवसायीले समयमा काम नसक्दा निर्माण कार्यले गति लिन नसकेको हो । पछिल्लो समय भने कोषले कन्सल्टेन्ट नियुक्ति नगर्दा बसपार्क निर्माणले गति लिन नसकेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । बसपार्क निर्माण कार्य हालसम्म ७० प्रतिशत काम भएको उहाँले बताउनुभयो ।
बसपार्कको पहिलो चरणको काम १८ महिनाभित्र काम सकिने गरी वि.स. २०८० बैशाख ७ गते स्वयम्भु–रेड–हमाल प्रालिसँग ठेक्का सम्झौता भएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषको ७० प्रतिशत र तानसेन नगरपालिकाको आन्तरिक स्रोत ३० प्रतिशत गरी कुल १८ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो । नयाँ प्रविधिबाट बसपार्क निर्माण थालेकाले समस्या आइरहेको इन्जिनियर श्रेष्ठको भनाइ छ । डिजाइन, निर्माण व्यवसायी र कन्सल्टेन्टका कारण सोचे अनुसार काममा प्रगति हुन नसकेको नगरपालिकाले जनाएको छ ।
निर्माण व्यवसायिका अनुसार हाल बलियो माटोको पर्खाल (आरइ वाल) जडानका काम ६० सकियो ४० प्रतिशत बाँकी नै छ । आरई वाल रूपन्देहीको मणिग्राममा निर्माण गरेर तानसेन ल्याइएको छ । सम्झौता अनुसार ५० बस अट्ने क्षमताको टर्मिनल, व्यवसाय प्रयोगजनका लागि व्यापारिक सटर, एक सार्वजनिक शौचालय, प्रशासनिक भवन निर्माण हुनेछ । दोस्रो चरणमा व्यवस्थित बसपार्कसहित पेट्रोल पम्प, अटोभिलेज, सुपरमार्केटकोसमेत प्रस्ताव गरिएको छ ।
नगरपालिकाका अनुसार निर्माण व्यवसायीले हालसम्म आठ करोड ११ लाख बढी भुक्तानी लिइसकेको छ । नया“ बसपार्कको काममा ढिलाइ भएपछि कामलाई गति दिन माग गर्दै केही समय अघि तानसेन ५ नं. वडाका वडाध्यक्ष रामबहादुर रावलको नेतृत्वले नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको थियो ।
बसपार्कको कामले अब गति लिने नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । निरन्तरको ताकेतापछि कोषले कन्सल्टेन्ट नियुक्तिको अन्तिम तयारी गरेकोले कामले तीव्रता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । डिजाइन र सुपरभिजन एउटै कम्पनीले गर्दै आएकोले अब कुनै प्राविधिक समस्या नआउने भएकोले कामले गति लिने नगर प्रमुख श्रेष्ठको भनाइ छ । (करूवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित)







