
पाल्पा । माथागढी गाउँपालिका ३ नं. वडा कसेनीमा बेमौसमी तरकारी उत्पादन तालिम (तह–१) सुरु भएको छ । मदनपोखरा बहुप्राविधिक शिक्षालय दमकडाको आयोजनामा कसेनीमा निशुल्क बेमौसमी तरकारी उत्पादन तालिम (तह–१) सुरु भएको हो ।
६५ दिन सम्म चल्ने तालिममा २० जना कृषक सहभागी भएको शिक्षालयका प्रशासकीय सहायक छविलाल भट्टराईले जानकारी दिनुभयो । कृषकहरुलाई व्यवसायिक बनाउने र बेमौसमी तरकारी उत्पादन गरी आयस्तर बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । मदनपोखरा बहुप्राविधिक शिक्षालय, दमकडाले ३ लाख २० हजार रुपैंयाँ बजेटबाट सञ्चालन भएको तालिममा प्रशिक्षक अबिना घिमिरे र सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता रेखा काफ्लेले सहजीकरण गर्ने प्रशासकीय सहायक भट्टराईले जानकारी दिनुभयो ।
तालिमको उद्घाटनमा शिक्षालयका प्रमुख प्रदीप राज पाण्डेले तालिमले तरकारी खेती गर्नेहरुलाई व्यवसायिक बन्न र बेमौसमी तरकारी उत्पादन गरी विक्री गरेर आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट गरिबी न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।
माथागढी गाउँपालिका ३ नं. वडाका वडाध्यक्ष तेज बहादुर घर्तीमगरले तालिम लिएर मात्रै केही नहुने बताउदै सिकेको कुरालाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । उहाँले तालिम लिइसकेपछि निरन्तरता दिने बानी नभएकोले राज्यको लगानी खेर गइरहेको समेत उल्लेख गर्नुभयो । किसानहरुले कृषि क्षेत्रमा आफ्नो पूर्ण समय दिए प्रतिफल राम्रो आउने वडाध्यक्ष घर्तीमगरले बताउनुभयो । किसानहरुलाई उद्यमशिल बनाउनका लागि बेमौसमी तरकारी खेती संगै आगामी दिनमा आवश्यकता अनुसारका अन्य कार्यक्रमहरु समेत लागु गरिने उहाँले बताउनुभयो ।









