बगनासकाली रनिङ शिल्डको उपाधि चन्द्र माविलाई

पाल्पा । बगनासकाली गाउँपालिकाको प्रथम बगनासकाली रनिङ शिल्ड प्रतियोगिताको उपाधि ९ नं. वडा चापपानीमा रहेको चन्द्र माध्यमिक विद्यालयले हात पारेको छ । चन्द्र माविले ८ स्वर्ण ६ रजत र १ काँस्य गरी १५ पदक प्राप्त गरी पहिलो बनेको हो ।

यसैगरी विष्णु माध्यमिक विद्यालय २ नं. वडा पोखराथोकले ७ स्वर्ण, ४ काँस्य गरी ११ पदक प्राप्त गरी दोस्रो भएको छ । ४ नं. वडामा रहेको राम माध्यमिक विद्यालय, राम्दी मलेङले ४ स्वर्ण ४ रजत र ५ काँस्य गरी १३ पदक प्राप्त गरी तेस्रो भएको गाउँपालिका खेलकुद विकास समितिका संयोजक ओम प्रकाश गैरेल जानकारी दिनुभयो ।

प्रतियोगितामा गाउँपालिका भित्रका १० सामुदायिक विद्यालयका दुई सय ५० विद्यार्थीहरु सहभागी प्रतियोगिताबाट ५० जना विद्यार्थी खेलाडीहरु जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएको शिक्षा शाखा प्रमुख निसा पाण्डेले बताउनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय, खेलाडी र उत्कृष्ट खेलाडीलाई गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरि प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, प्रवक्ता टीका बहादुर थापालगायतले संयुक्त रुपमा मेडल, ट्रफि, कप र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । यसका साथै प्रतियोगिता सफल पार्न सहयोग गर्ने प्रशिक्षक, निर्णयकर्ता, संघ संस्था र विद्यालयलाई समेत सम्मान गरिएको थियो ।

प्रतियोगिता समापनका अवसरमा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले खेलकुद साझा उत्सवका रुपमा रहेको प्रगितयोगितालाई सबै क्षेत्रबाट सहयोग प्रति धन्यवाद ज्ञापन समेत गर्नुभयो । प्रतियोगिताले खेलाडीमा अनुशासन र स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गराउने अध्यक्ष चिदीले भनाइ थियो । त्यसैले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष पाठक, प्रवक्ता थापा र प्रमुख प्रशासकीय अधिकृत पाण्डेलगायतले प्रतियोगिताले विधार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताउनुभयो । उहाँहरुले प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल सम्बन्ध विस्तार गर्न भूमिका खेलेको बताउनुभयो ।

सम्बन्धित खवर