रामपुरको १८ औँ नगर अधिवेशन सम्पन्न

पाल्पा । रामपुर नगरपालिकाको १८ औँ नगर अधिवेशन सम्पन्न भएको छ । नगर सभाको अधिवेशनले विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तरसहित दुई वटा ऐन जारी गर्दै नगर सभा सम्पन्न भएको हो ।

हिउँदे सभाले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको बजेट रकमान्तर तथा शिर्षकान्तर गरेको छ । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभामा सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गर्नु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ र विद्येयक सदस्य विष्णु माया गैरे प्रस्तुत गर्नु भएको रामपुर नगरपालिका पर्यटन विकास विधेयक सर्वसम्मत रुपमा पारित भएको प्रवक्ता कपिल बहादुर खाँण जानकारी दिनुभयो ।

नगर सभामा नगर प्रमुख रमण बहादुर थापाले विकास संगै नगरको पहिचानका लागि नगरपालिकाले गरेका कार्य गौरवको रुपमा रहेको बताउनुभयो । उहाँले नगरपालिकाले खर रहितको घर, युवा स्वरोजगार, ढल रहित शहर, कालीगण्डकी पैदल मार्ग निर्माण, नगर गौशाला निर्माण, उज्यलो शहर घोषणालगायतका महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । बालबालिका र जेष्ठ नागरिकको सुरक्षाका लागि नगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्दैै आएको बताउदै नगरप्रमुख थापाले जनताको चाहाना अनुसार स्रोत साधनले भ्याए सम्म विकास र सेवालाई प्राथमिकता दिँदै जाने बताउनुभयो ।

नगर उपप्रमुख बालकुमारी थापाले नगरको चालु आर्थिक वर्षको कुल बजेट ८१ करोड १३ लाख ६६ हजार ६२१ रुपैयाँ मध्ये अधिवेशनले वडा तथा नगर स्तरीय ८० वटा योजना तथा कार्यक्रमको दुई करोड पाँच लाख ११ हजार शीर्षकान्तर तथा रकमान्तर गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठक विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । शुन्य समयमा १० नं. वडाका वडाध्यक्ष तोयानाथ सारु थापाले नगरपालिकाले सञ्चालन गरेका राम्रो योजनालाई निरन्तरता दिँदै बाँकी कार्यलाई पनि समेटेर अघि बढ्नु पर्ने बताउनुभयो । यस्तैगरी रामपुर ४ का वडा सदस्य मोहम्मद अजिम शेख, वडा नं. ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले सडक तथा विकासका पूर्वाधारको बारेमा आवाज उठाउनु भएको थियो । विशेष समयमा रामपुर ७ का वडाध्यक्ष दोवराज तिवारीले फोहोर व्यवस्थापनमा नगरपालिकाले विशेष ध्यान दिनुमा जोड दिनुभयो । ६ नं. वडा सदस्य हरिनाथ ढुङ्गानाले बुल्टारलाई नगरको क्रिकेट मैदानको रुपमा विकास गर्न आग्रह गर्नुभयो । रामपुर–४ का वडा सदस्य मोहन सिं रानाले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरुको लागि राजस्वमा सहुलियत प्रदान गर्नु पर्नेलगायतका सुझावहरु आएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय