
पाल्पा । जिल्लामा सडक दुर्घटना न्यूनीकरणका लागि चालकसंग तीन मिनेट ट्राफिक प्रहरी सचेतना अभियान संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अभियान संचालन गरिएको ट्राफिक प्रहरी प्रमुख खेमानन्द पंगेनीले जानकारी दिनुभयो ।
राजमार्ग र भित्रीसडकहरुमा नियमित संचालन भैरहेको सचेतना कार्यक्रम सोमबार तानसेन बसपार्कमा सम्पन्न भएको छ । जसमा सार्वजनिक सवारी साधन कार, मोटरसाइकल, स्कुटर चालकहरुलाई ट्राफिक शिक्षा दिइएको उहाँले बताउनुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको योजना अनुसार सचेतनाको कार्यक्रम जिल्लमा चलाइएको ट्राफिक प्रहरी प्रमुख पंगेनीले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले सडक दुर्घटना न्यूनीकरणका लागि चालकसँग तीन मिनेटको ट्राफिक प्रहरी सचेतना अत्यन्त प्रभावकारी र व्यवहारिक उपाय भएको बताउनुभयो । उहाँले छोटो समयमै दिइने यस्तो सचेतनाले चालकको ध्यान नियमप्रति केन्द्रित गरी लापरबाही घटाउन मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक दीपेन्द्र पन्जियार थारुले चालकले ट्राफिक संकेत, गति सीमा, मदिरा सेवनपछि सवारी नचलाउने, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोगलगायतका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले चालकको सजगता र जिम्मेवार व्यवहारले दुर्घटनाको जोखिम कम हुने भएकोले तीव्र गतिमा सवारी नचलाउने, मोबाइल प्रयोग नगर्ने, मदिरा सेवनपछि सवारी नचलाउने, ओभरटेकिङजस्ता जोखिमपूर्ण व्यवहार गर्न नहुने बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक होमप्रसाद चौधरीले सवारी चलाउँदा सधैं ट्राफिक नियम र संकेतको पालना गर्नुपर्ने बताउनुभयो । उहाँले हेल्मेट, सिटबेल्टजस्ता सुरक्षा उपकरणको अनिवार्य प्रयोग गर्नुका साथै आफ्नो सवारी साधनको नियमित प्राविधिक जाँच गरी ब्रेक, बत्ती र टायरको अवस्था ठीक राख्नुपर्नेमा जोड दिनुभयो ।








