
पाल्पा । रम्भा गाउँपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ३ नं. वडा पिपडाँडामा रहेको अमृत पब्लिक माध्यमिक विद्यालयले हात पारेको छ ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ संचालन भएको प्रतियोगितामा १२ स्वर्ण, २ रजत र ७ कास्यसहित २१ पदक प्राप्त गरी अमृत पब्लिक माविले राष्ट्रपति रनिङ् शिल्ड जितेको हो ।
यस्तैगरी ३ नं. वडाकै झेस्काङमा रहेको कृष्ण माध्यमिक विद्यालयले आठ स्वर्ण, सात रजत र तीन कास्यसहित १८ पदक प्राप्त गरी दोस्रो भएको छ । जनकल्याण माध्यमिक विद्यालय १ नं. वडा हुँगीले पाँच स्वर्ण, छ रजत र छ कास्यसहित १७ वटा पदक प्राप्त गरी तेस्रो भएका शिक्षा शाखा प्रमुख मिनादेवी आर्चायले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना कृष्ण गण्डकी माध्यमिक विद्यालय असेर्दीको संमन्वयमा पुस १८ गतेदेखि २१ गतेसम्म १ नं. वडाको असेर्दी खेलमैदानमा भएको प्रतियोगिताको सफल विद्यालय तथा विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष विष्णप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुन, १ नं. वडाका वडाध्यक्ष इश्वरी काफ्लेलगायले संयुक्त रुपमा शिल्ड, मेडल र पुरस्कार वितरण गर्नुभएको थियो ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष भण्डारीले प्रतियोगिताले विधार्थीको प्रतिभा पहिचान गर्न प्रतियोगिताले सहयोग पुगेको बताउनुभयो । उहाँले प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको बताउदै मर्यादित, अनुशासित र नियम पूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
गाउँपालिका भित्रका ९ माध्यमिक विद्यालय र कालीगण्डकी गुरुकुलमका विद्यार्थीसहित पाँच सय ९२ जना विधार्थी खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा कबड्डी, भलिबल र एथ्लेटिक्स गरी तीन विधामा छात्र र छात्रलाई प्रतिष्पर्धा गराइएको शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो ।








