
पाल्पा । रिब्दीकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ २ नं. वडा देउरालीमा गरेको हो ।
सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले आर्थिक वर्षको पहिलो चौमासिकमा समग्र रुपमा ३० दशमलव ४७ प्रतिशत खर्च भएको बताउनुभयो । उहाँले चालुतर्फ ३७ दशमलव ७१ र पुँजीगतखर्च १३ दशमलव ०३ प्रतिशत खर्च भएको बताउनुभयो । गाउँपालिकाले अहिलेसम्म राजश्वतर्फ ४२ लाख ५४ हजार संकलन गर्न सफल भएको बताउदै प्रमुख प्रशसकीय अधिकृत भुसालले गाउँपालिकाले सकेसम्म सेवालाई नागरिकको अपेक्षा अनुसार सेवाग्राहीमैत्री, सुशासनमैत्री र जनअपेक्षा केन्द्रीत बनाउदै लगेको बताउनुभयो ।
सार्वजनिक सुनुवाइमा सहभागीले बजेट, योजनाको सूचनाबारे जानकारी दिनुपर्ने, एक घर एक धारा खानेपानी नपाइएको, सिजी सिमेन्टले जग्गा किनेर खाली राख्दा वन्यजन्तुको संख्या बढेको, डम्बक क्षेत्रमा भएका आँपका रुख हटाएर नयाँ प्रजातीका विरुवा रोप्नु पर्ने, कन्टी पोखरादेखि सिजीसम्म सडक अस्तव्यस्त रहेको, अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा नपाएको, काठको पोल परिर्वतन गर्नुपर्ने सुझाव राखेका थिए । यस्तैगरी सहभागीहरुले उत्पादनमा आधारित अनुदान कार्यक्रमको प्रभावकारीता नभएको, कुसुमखोलाको कोल्ड स्टोर्स संंचालनमा नआएको, विउ अनुदान वितरणको उपलब्धि नभएको, अकबरे खुर्सानीको मूल्य बढाउनुपर्ने, बेसार सुकाउने मेसिन किनेर गाउँपालिकामा थन्काइएको, गोरु पाल्ने किसानलाई अनुदानमा भेदभाव भएको, विउ अनुदान भन्दा उत्पादनमा अनुदान दिनुपर्ने, हेफर रेडाबाट भएको अनुदान कार्यक्रमको अनुगमन आवश्यक रहेको, तिरो शुल्क बढेकोलगायतका गुनासो राखेका थिए ।
सार्वजनिक सुनुवाइमा सहभागीको प्रश्न, जिज्ञासा र सुझावका विषयमा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले प्राप्त सुझावहरुलाई आत्मसाथ गरी आगामी दिनमा सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले गाउँपालिका प्रतिको चासो र चिन्ताको विषय महत्वपूर्ण भएको बताउँदै सेवामा सन्तुष्ट भएको, विकासमा केही सन्तोष केही असन्तोष देखिनु जाहेज भएको बताउनुभयो । नागरिकका सबै इच्छा आकंक्षा पूरा गर्ने चाहना हरेक सरकारको रहने बताउँदै अध्यक्ष कार्कीले गाउँपालिकासँग सीमित स्रोत र साधनका कारण इच्छा हुँदा पनि पूरा गर्न नसकेको बताउनुभयो ।
उपाध्यक्ष कान्ता अधिकारीले सल्लाह सुझावले नै गाउँपालिकालाई अगाडि बढ्न सहयोग पुग्ने बताउनुभयो । उहाँले नागरिकको जिज्ञास र सुझावका लागि धन्यवाद दिँदै नागरिक र सरकारको सहकार्यबाट मात्र विकास सम्भव हुने बताउनुभयो । नागरिकको सेवामा जनप्रतिनिधि सधै लागि परेको बताउँदै काम गर्ने दौरानमा केही कमजोरी भएपनि सच्चाउनका लागि नागरिकको सुझाव महत्वपूर्ण हुने उपाध्यक्ष अधिकारीको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत भुसालले सुझाव, गुनासलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नागरिक प्रतिवेदनमा उल्लेख भएअनुसार कार्यलयको सेवा प्रवाह सन्तोषजनक भएपनि विकासको काममा अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
यसका साथै सहभागीको जिज्ञासा र प्रश्नमाथि राजश्व शाखा, कृषि शाखा, पशु विकास शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखालगायतका प्रमुखहरुले समेत जवाफ दिनुभएको थियो ।
कार्यक्रममा नागरिक प्रतिवेदन तथा बर्हिगमन अभिमतबारे संचार मञ्च पाल्पाका संस्थापक अध्यक्ष माधव प्रसाद अर्यालले जानकारी गरायउनुभएको थियो भने कार्यक्रमको सहजीकरण मञ्चका महासचिव कमल अधिकारी र अध्यक्ष पदम प्रसाद गैरेले गर्नुभएको थियो ।








