
पाल्पा । रम्भा गाउँपालिकामा निर्माण भैरहेको १५ शैयाको आधारभूत अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म अस्पतालको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच वृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ५, १० र १५ शैयासम्मको अस्पताल नभएका स्थानीय तहमा अस्पतालको भवन बनाउने योजना अनुसार भवन निर्माण कार्य अगाडि बढाइएको हो । भवन गाउँपालिकाको ५ नं. वडा साविक ताहुँ गाउँ विकास समितिका स्थानीयले निशुल्क उपलब्ध गराएको दश रोपनी भन्दा बढी क्षेत्रफलमा अस्पताल बनिरहेको छ ।
२०८० फागुन २ गते अर्जुन विल्डर्स–डाईनामिक कन्स्ट्रक्सन जे.भी. रेसुङ्गा–०९, गुल्मी संग १६ करोड ३७ लाख ८९ हजार ९८१ लागतमा २०८३ भदौ ३ गतेसम्म निर्माण कार्य सक्नेगरी ठेक्का सम्झौता भएको थियो । सोही अनुसार समयमै काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । साढे चार तले अस्पतालको भवनमा अहिलसम्म मुख्य स्टक्चर, विद्युत, खानेपानीको काम सम्पन्न भैसकेको । अव करिब १० प्रतिशत जति फिनसिंग र रंग रोगनको काम पूरा भएपछि सेवा सुचारु गर्न सकिने गाउँपालिका इन्जिनियर दिपक सारुले बताउनुभयो ।
अस्पताल निर्माण कार्य सम्पन्न भएपछि दरबन्दी नवौं तहको चिकित्सको नेतृत्वमा ३० जना स्वास्थ्यकर्मीले सेवा दिने छन् । आधारभूत अस्पतालबाट ओपिडी सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, आयुर्वेद सेवा, दन्त उपचार सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा (बिरामी भर्ना) र फार्मेसी सेवा उपलब्ध हुने छ । जसले गर्दा सामान्य अवस्थाका बिरामीले औषधि उपचारका लागि तानसेन तथा आसपासका ठूला अस्पतालमा जानुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयो । अस्पतालबाट सेवा सुरु भएपछि गाउँपालिका भित्रका फोक्सिङकोट, हुमिन, पिपलडाँडा र छिमेकी गाउँपालिका पूर्वाखोला र माथागढीका केही भागका नागरिकलाई फाइदा पुग्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।
पछिल्लो समय आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मा स्थानीय सरकारमा छ । सोही अनुसार नागरिकलाई अनुभूति हुनेगरी अस्पताल निर्माण कार्यलाई तीव्रता दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । उहाँले नजिकको अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्दा नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
हाल गाउँपालिका भित्र ४ वटा स्वास्थ्य चौकी, एक वटा प्राथमिक स्वास्थ्य केन्द्र र ८ वटा सामुदायिक स्वास्थ्य एकाईबाट स्वास्थ्य सेवा प्रवाह भैरहेको छ । यसका साथै एक वटा आयुर्वेदिक औषधालय र एक नागरिक आरोग्य केन्द्रबाट पनि सेवा प्रवाह भएको स्वास्थ्य शाखा संयोजक शिव अर्यालले बताउनुभयो । गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरु मध्ये फोक्सिङकोटमा सुविधा सम्पन्न भवन नभएकोले यस पटक भवन निर्माणका लागि टेण्डर भएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीबाट सेवा लिइरहेका नागरिकले स्थानीयस्तरमै अस्पतालको सुविधा प्राप्त गर्ने वातावरण निर्माण हुँदा धेरै सहज हुने गाउँपालिकाले जनाएको छ । करुवा अर्धसाप्ताहिकमा समाचार प्रकाशित छ ।









