पत्रकार महासंघको ३४ औं स्थापना दिवसमा अन्तरक्रिया

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखाको ३४ औं स्थापना दिवसका अवसरमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।

कार्यक्रममा महासंघ पाल्पा शाखाका संस्थापक अध्यक्ष मेघराज शर्माले पत्रकार महासंघ पाल्पाको विगतको इतिहास गौरवपूर्ण रहेको बताउदै जवाफदेही र अनुशासन कायम गर्दै विगतको गरिमा जोगाउन आग्रह गर्नुभयो । उहाँले पत्रकारिता बलियो बनाउँदा लोकतन्त्र बलियो हुने भन्दै पत्रकारितामा राजनीतिक गन्ध आउन दिन नहुनेमा समेत जोड दिनुभयो । समानुपातिक विज्ञापन नीति व्यवहारमा लागु हुन नसक्दा स्थानीय मिडिया संकटमा रहेकोले यस विषयमा महासंघले आवश्यक पहल गर्नुपर्नेमा संस्थापक अध्यक्ष शर्माले जोड दिनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले सिङ्गो समाज र देशको चित्र कोर्ने पत्रकारहरू आफ्नो चरित्रको बारेमा निष्पक्ष ढंगले प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले गलत कुराको विषय उठान गर्ने आँट पत्रकारले गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरे, नेपाली कम्युनिष्ट पार्टीका नेता यादव बहादुर रायमाझी, राप्रपा प्रतिनिनिधि रमेश विरजंग राणाले शुभकामना व्यक्त गर्दै पत्रकारिता स्वतन्त्र, मर्यादित र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै गरी तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाका अध्यक्ष सस्वती दर्लामी चिदी, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले स्थानीय तहले स्थानीय मिडिया संरक्षणमा सहयोग र समन्वय गर्दै आएको बताउनुभयो । उहाँहरुले सत्य र तथ्यमा आधारित रहेर सूचना प्रवाह गरेमा पत्रकारिताको विश्वसनियता बढ्ने बताउनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्की, पत्रकार महासंघका संस्थापक सचिव भरत शर्माले पत्रकारिता विना विकास निर्माण र सुशासनको परिकल्पना गर्न नसकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, झपेन्द्र गहिरेले पाल्पाली पत्रकारिताको विगतको इतिहास र योगदानका विषयमा चर्चा गर्नुभएको थियो । यस्तै गरी महासंघका पूर्व अध्यक्ष भगवान भण्डारीले नागरिक समाजको रूपमा पत्रकारितामा महासंघले खेलेको भूमिका र योगदानका बारेमा जानकारी गराउनुभएको थियो ।

महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिताको विगत र वर्तमानको अवस्था बारे जानकारी गराउदै पत्रकारलाई पेशालाई टिकाइराख्न महासंघले समाजलाई मिडिया साक्षरता बुझाउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सिनाले सहभागीको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताउँदै महासंघको गरिमालाई उच्च राख्न प्रतिवद्ध व्यक्त गर्नुभयो ।।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय