
पाल्पा । रम्भा गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
रम्भा गाउँपालिकाको आयोजना कृष्ण गण्डकी माध्यमिक विद्यालय असेर्दीको संमन्वयमा प्रतियोगिता संचालन भएको हो । १ नं. वडाको असेर्दी खेलमैदानमा भएको प्रतियोगिताको शुभारम्भ गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले गर्नुभएको हो । उहाँले प्रतियोगिताले गाउँपालिका भित्र रहेका प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । यसका साथै अध्यक्ष भण्डारीले खेलकुदमा विद्यार्थीहरुको सहभागिता बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने गरिएको बताउनुभयो ।
यस्तै उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले खेलकुदले विद्यार्थी खेलाडीलाई अनुशासित र बौद्धिक बनाउने बताउनुभयो । खेलाडीहरूलाई खेल खेल्दा अनुशासित, मर्यादित र मेहनतका साथ खेल्न तथा सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।
रम्भा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष इश्वरी काफ्लेले सवगत गर्दै खेलकुदले शारीरिक तथा मानसिक रुपमा सक्षम बनाउने बताउनुभयो । उहाँले विद्यार्थीलाई प्रतिस्पर्धा स्वच्छ र लगनशील भएर गर्न आग्रह गर्नुभयो ।
गाउँपालिका भित्रका ९ माध्यमिक विद्यालयका विधार्थी खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा विभिन्न १५ विधामा ७४ स्वर्ण, ७४ रजत र ११० कास्य पदकको लागि खेल सञ्चालन हुने शिक्षा शाखा संयोजक मिनादेवी आचार्यले जानकारी दिनुभयो ।









