पपमा विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र

पाल्पा । तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनमा स्थापना गरेको छ ।

बाढी, पहिरो, भूकम्प जस्ता विपदका विषयमा विद्यार्थीलाई ज्ञान दिन श्रोत केन्द्र स्थापना गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले केन्द्रमार्फत विद्यार्थी, शिक्षक र अभिभावकलाई भूकम्प, आगलागी, पहिरो, बाढीजस्ता सम्भावित विपद् जोखिमबारे जानकारी, तालिम र अभ्यास गराइने हुँदा विपद्का समयमा अपनाउनुपर्ने सही व्यवहार विद्यार्थीमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख प्रतीक्षा सिंजालीले श्रोत केन्द्र स्थापनाले विद्यालयलाई सुरक्षित र सजग शिक्षण वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालकै पहिलो अवधारणा स्थानीय सरकारको अग्रसरता र अपनत्वमा सुरु भएको केन्द्रका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग आवश्यक सहकार्य गरिने बताउनुभयो ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पाका विपद्जन्य कार्यका लागि योजना बनाएर कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले नगरपालिका भित्रका सबै विद्यालयले सिक्ने र सिकाउन सक्ने गरी केन्द्र सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममो विपद् पूर्व तयारी, उद्दार तथा राहत, अल्पिकरण तथा अनुकुलन र पूनर्निर्माण तथा पूनस्र्थापनाका बारेमा विपद् विज्ञ दिपक मरहट्टाले सहजीकरण गर्नुभएको थियो ।
नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्ण बहादुर थापाले नगरपालिकाले हरेक विद्यालयमा विपद् पूर्वतयारीका लागि अभ्यास सहित श्रोत सामग्री राख्ने काम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले पूर्वतयारी, आपतकालीन योजना, सुरक्षित निकास, प्राथमिक उपचार तथा खोज–उद्धारसम्बन्धी ज्ञान बढ्दा मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।

जापान तथा अन्य साझेदार निकायसँग श्रोत केन्द्र व्यवस्थापनका लागि सहकार्य गरिने कार्यक्रमका फोकल पर्सन विष्णु पौडेलले बताउनुभयो ।

सम्बन्धित खवर