रैनादेवी छहराको रनिङ शिल्डको उपाधि महाकाली माविलाई

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली माध्यमिक विद्यालय मेहलढापले हात पारेको छ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ संचालन भएको प्रतियोगितामा आठ स्वर्ण, तिन रजत र पाँच कास्यसहित १६ वटा पदक प्राप्त गरी राष्ट्रपति रनिङ् शिल्ड जितेको हो ।

यस्तैगरी गंगा माध्यमिक विद्यालयले पाँच स्वर्ण, तीन रजत र पाँच कास्यसहित १३ वटा पदक प्राप्त गरी दोस्रो भएको छ । भैरव नवदिप माध्यमिक विद्यालयले चार स्वर्ण, छ रजत र चार कास्यसहित १४ वटा पदक प्राप्त गरी तेस्रो भएका छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेल संयोजक मान सिंह कुवँरले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका १२ माध्यमिक विद्यालय दुई आधारभूत विद्यालय गरी १४ वटा विद्यालयका विधार्थी खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा कबड्डी, ज्याभलिन थ्रो, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, एथ्लेटिक्स, लङ्ग जम्प, सटफुटलगायतका खेलमा प्रतिष्पर्धा गराइएको थियो ।

प्रतियोगिता समापन समारोहमा गाउँपालिका अध्यक्ष रुक्मागंत भट्टराईले खेलकुदको माध्यमबाट खेलाडीहरुले आफ्नो मात्र नभएर समाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्न बताउनुभयो । खेलकुदले विधार्थीको शारीरिक, मानसिक, सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउदै अध्यक्ष भट्टराईले प्रतियोगिताले विद्यार्थी खेलाडीलाई सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्ने बताउनुभयो ।

कटौजेपानी खेलमैदानमा संचालन भएको प्रतियोगितामा विजेता खेलाडी तथा विद्यालय, उत्कृष्ट खेलाडी, र विधालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले जानकारी दिनु भयो । उहाँले प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेल्ने बताउदै प्रतियोगिता मर्यादित, अनुशासित र नियम पूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर