
पाल्पा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाको जिल्ला परिषद् सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपानेले निजी विद्यालयहरूले देशको शिक्षा विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले बदलिँदो शैक्षिक परिवेशमा गुणस्तरीय शिक्षा र अनुशासनमा थप ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
विशिष्ट अतिथि लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले संघीय संरचनामा निजी विद्यालयका समस्या थप जटिल बन्दै गएको बताउनुभयो । उहाँले शिक्षक–कर्मचारीको हकहित र संस्थागत विद्यालयको संरक्षणका लागि प्याब्सन अझ सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।
प्याब्सनका पाल्पा संस्थापक अध्यक्ष भेषराज सुवेदी तथा पूर्व अध्यक्षहरूले प्याब्सन पाल्पाको स्थापना कालदेखि हालसम्मको यात्रा स्मरण गर्दै संगठन एकता, सहकार्य र जिल्लाको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
परिषद्मा प्याब्सन पाल्पाका कोषाध्यक्ष दुर्गाप्रसाद बस्यालले आर्थिक प्रतिवेदन र सचिव गंगाबहादुर खत्रीले सांगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष डासुराम पन्तको अध्यक्षतामा भएको परिषद् संगठन सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा निजी विद्यालयहरूको हकहित संरक्षणका विषयमा विभिन्न निर्णयहरू गरेको सम्पन्न भएको उपाध्यक्ष अशेष भट्टराईले जानकारी दिनुभयो ।









