
पाल्पा । रत्न माध्यमिक विद्यालय माथागढी ४ देवगिरलाई कम्प्युटर कक्ष निर्माणको लागि ६ थान कम्प्युटरसहित स्टेशनरी र खेलकुद सामग्री वितरण गरिएको छ ।
लायन्स क्लब अफ बुटवल स्टार्सले विद्यार्थीहरुको डिजिटल शिक्षा, प्रविधिमैत्री सिकाई तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो । यसका साथै सोही अवसरमा क्लबले विद्यालयमा स्थापना गरेको कम्प्युटर प्रयोगशालको समेत शुभारम्भ गरिएको छ ।
क्लबका अध्यक्ष राजन जि.सीले आफ्नो प्रारम्भिक शिक्षा लिएको विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गरिएको बताउनुभयो । उहाँले जन्मथलोमा रहेको विद्यालयमा सहयोग गर्ने प्रस्तावमा क्लबका समकक्षीले गरेको सहयोग महत्वपूर्ण रहेको बताउदै सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले गाउँपालिकाको समग्र शैक्षिक सुधारमा रत्न माविले गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि लायन्स क्लबले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । गाउँपालिकाले शैक्षिक सुधारका लागि प्राथमिकता दिएर कार्यक्रम गर्दै जानकारी गराउदै अध्यक्ष चिदीले क्लबलाई गाउँपालिका भित्रका अन्य विद्यालयलाई पनि प्रविधिमा मद्दत गर्न कार्यक्रम भए गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
विद्यालयमा कम्प्युटर कक्ष व्यवस्थापन गरी विद्यार्थीहरुलाई आईटी तथा कम्प्युटर सम्बन्धी ज्ञान सीप हासिल गर्ने वातावरण निर्माण गरिदिएकोमा प्रधानाध्यापक निरबहादुर सारुले खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यालयको शैक्षिक, भौतिक पक्षको विकासका लागि क्लबले आगामी दिनमा पनि सहयोगका कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।









