
पाल्पा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), पाल्पाको आयोजनामा एक दिने नेपाली विषय शिक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि र शिक्षणलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले शिक्षक कक्षामा प्रवेश गर्दा आवश्यक तयारीसहित जानु अत्यन्त जरुरी रहेको बताउनुभयो । उहाँले सिकाइलाई प्रभावकारी बनाउन शिक्षकको भूमिका निर्णायक हुने बताउनुभयो । शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु प्याब्सनको अनुकरणीय कदम भएको बताउदै प्रमुख खनालले यसको प्रत्यक्ष लाभ विद्यार्थीको सिकाइ उपलब्धिमा देखिन्ने बताउनुभयो ।
कार्यक्रममा कक्षा शिक्षण कसरी प्रभावकारी बनाउने, पाठलाई रोचक ढंगले प्रस्तुत गर्ने र नेपाली विषयलाई विद्यार्थीमैत्री कसरी बनाउने भन्ने विषयमा प्राध्यापक डा. राम प्रसाद ज्ञवाली र डा. देवी नेपाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरूको तर्फबाट बोल्दै प्रेमराज खरालले शिक्षण सम्बन्धी अन्तरक्रियाले शिक्षकहरूलाई आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण फाइदा पुगेको बताउनुभयो । उहाँले सहकर्मी शिक्षकहरुसँगको छलफलले आत्मविश्वास बढाउनुका साथै शिक्षणप्रति नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको बताउनुभयो ।
प्याब्सन पाल्पाका अध्यक्ष डासुराम पन्तले अन्तरक्रियाबाट शिक्षकहरूले नवीन शिक्षण विधि, पाठ्यक्रमको उद्देश्य, मूल्याङ्कन प्रक्रिया तथा कक्षाकोठा व्यवस्थापनका प्रभावकारी तरिकाबारे अनुभव आदान–प्रदान भएको बताउनुभयो । उहाँले यसले पाठलाई विद्यार्थीमैत्री, व्यवहारिक र रुचिकर बनाउने सीप विकास गर्न सहयोग गरेको बताउनुभयो ।









