
पाल्पा । नेपाली कम्युनिस्ट पार्टीका नेता सोमप्रसाद पाण्डेयले सबैको भावना अनुसार पाल्पा क्षेत्रनं. २ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार भएको बताउनुभएको छ । उहाँले फागुन २१ को निर्वाचन महान् अभियान रहेको र जेनजीको भावना अनुसार काम गर्न आफूले जित्नुपर्ने बताउनुभयो ।
शुक्रबार पार्टीको तानसेन नगर समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता पाण्डेयले अन्य दलहरुमा उम्मेदवार सिफारिसमा समस्या देखिए पनि पाल्पाली जनताको माग र पार्टीको भावना अनुसार टिकट प्राप्त गरी निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले मुलुकलाई कमजोर पार्ने तत्वहरु अघि बढेको सन्दर्भमा निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्ने अवस्था आएको बताउनुभयो । शुक्रबार नै उम्मेदवार पाण्डेयले रैनादेवी छहरा गाउँ समितिको बैठकमा समेत सम्बोधन गर्नुभएको थियो ।
पूर्व मन्त्रीसमेत रहनुभएका पाण्डेयले पाल्पा जिल्लाका लागि आफूले महत्वपूर्ण समय खर्च गरेको बताउनुभयो । उहाँले केही महत्वपूर्ण योजना सुरु भएर अधुरो अवस्थामा रहेकोले पूरा गर्नुपर्ने दायित्व रहेकोले उम्मेदवार बनेको बताउदै थप विकास गर्नका लागि तारा चिन्हमा मतदान गरी विजयी वनाउन आग्रह गर्नुभयो ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं निर्वाचन परिचलन कमिटी क्षेत्र नं. २ का संयोजक यादव बहादुर रायमाझी, नेकपाका केन्द्रीय सदस्य अशोक कुमार शाही, केन्द्रीय सदस्य नेत्र प्रसाद पाण्डे, प्रदेश सचिवालय सदस्य मथुरा ढकाल, नगर अध्यक्ष प्रतिक्षा गाहा सिंजालीलगायतले निर्वाचन अहिलेको आवश्यकता रहेको हुँदा नेकपालाई विजयी गराएरु मुलुकलाई स्थायीत्वमा लैजानुपर्ने बताउनुभयो ।








