
पाल्पा । कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रृंखल परियोजना अन्तर्गत तानसेन ९ तिन्टीआँपमा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सुरु भएको छ ।
कृषकहरूको वित्तीय सशक्तिकरणका लागि मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कृषि विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा साक्षरता कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मदनपोखरा क्षेत्र कृषि क्रान्तिका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा उदाहरणीय अभ्यास र सामूहिक प्रयासका कारण यो स्थान विगतदेखि नै आदर्श गाउँका रूपमा परिचित रहँदै आएको बताउनुभयो ।
कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय रूपन्देहीका निर्देशक माधव रिजालले किसानलाई मूल्य श्रृङ्खला, वित्तीय व्यवस्थापन र व्यवसायिक साक्षरताका हिसाबले सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले यस कार्यक्रममा २२ वटा श्रृङ्खलामा कक्षाहरू सञ्चालन गरिने बताउनुभयो । जसले कृषकको उत्पादन, बजारीकरण र वित्तीय पहुँचलाई थप सुदृढ बनाउने निर्देशक रिजालको भनाइ छ ।
कार्यक्रममा तानसेन ९ का वडाध्यक्ष राजेश कुमार अर्याल कृषकहरूले आफ्नो उत्पादन लागत, नाफा–नोक्सान विश्लेषण गर्न सिक्दा व्यवसायिक कृषितर्फ रूपान्तरण गर्न सहयोग हुने बताउनुभयो । उहाँले बजार मूल्य, बीमा, सहकारी तथा बैंकिङ सेवा प्रयोग गर्ने ज्ञान बढ्दा अनावश्यक आर्थिक जोखिम समेत घट्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष घनश्याम घिमिरे कृषकहरूका लागि वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम अत्यन्त उपयोगी रहेको बताउनुभयो । उहाँले आम्दानी र खर्चको सही लेखाजोखा गर्न, बचत गर्ने बानी विकास गर्न र ऋण लिँदा ब्याजदर, भुक्तानी अवधि तथा जोखिम बुझ्न मद्दत गर्ने बताउनुभयो ।
परियोजनाका फोकल पर्सन बालकृष्ण अर्याल कार्यक्रमले कृषकलाई आत्मनिर्भर बनाउँदै लगानी बढाउन, उत्पादन सुधार गर्न र पारिवारिक आर्थिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
कार्यक्रममा रुपेश न्यौपाने र सम्झना राइले वित्तीय शिक्षामार्फत कृषकहरूलाई बचत, कर्जा, लगानी, बैंकिङ सेवा र व्यवसाय व्यवस्थापन बारे सहजीकरण गर्नुहुने सहकारी संस्थाका उपाध्यक्ष सन्तोष अर्याल बताउनुभयो ।








