जन्मथलोबाट एमाले उम्मेदवार गैरेको चुनावी अभियान सुरु

पाल्पा । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका ठाकुरप्रसाद गैरेले आफ्नो जन्मथालोबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएको छ । उहाँले शुक्रबार शहिद दिवसका अवसर पारेर बगनासकाली गाउँपालिका ८ नं. वडा बराङ्दी, देउरालीमा शहिदहरुको फोटोमा माल्यापर्ण गरी अभियान सुरु गर्नुभएको हो ।

उम्मेदवार गैरेले जीवनभर देश र जनताको हितमा लडेको र आफू व्यक्तिगत हितमा कहिल्यै नलागेको बताउनुभयो । उहाँले पहिलो पटक मतदाताले २०७९ मा निर्वाचित गराएर संसदमा पठाएपछि जिल्ला र देशका समस्याहरुका विषयमा निरन्तर कुरा उठाएको बताउनुभयो । सांसदको हैसियतमा सदनमा आफ्नो भूमिका जिम्मेवारी पूर्वक बहन गरेरको र सम्भावना अनुसार जिल्लाका सुरु गरिएको विकासका कामको पूर्णता नहुँदै विचमा संसद भंग भएकोले काम पूरा गर्न पुन उम्मेदवार बन्नु परेको नेता गैरेको भनाइ थियो । उहाँले उम्मेदवारको टिकट नेकपा एमालेबाट पाएपनि आफू पाल्पाली जनताको साझा उम्मेदवार भएकोले दावी गर्दै सूर्यमा मतदान गरी विजय बनाउन मतदातालाई आग्रह गर्नुभयो ।

देशमा बढेको भष्ट्राचारको अन्त्य, सुशासन र सामाजिक संजाल खोल्नुपर्ने जेनजीहरुको मुख्य माग रहेपनि, आन्दोलनमा अन्यपक्षको घुसपैठका कारण देश तहस, नहस भएकोले देशलाई लयमा फर्काउन, जेनजीको मागलाई सघाउन एमालेले जित्नुपर्ने उम्मेदवार गैरेले बताउनुभयो ।

नेकपा एमाले बगनासकाली गाउँ कमिटीको नेतृत्वमा सुरु भएको प्रचार अभियानमा एमाले केन्द्रीय लेखा आयोग उपाध्यक्ष धनेन्द्रराज घिमिरे, एमाले नेता डा. रामबहादुर राउत, केन्द्रीय सल्लाहकार परिषद् सदस्य फर्सुराम भट्टराई, पूर्व जिल्ला कमिटी अध्यक्ष देवीप्रसाद बस्याल, गाउँकमिटी अध्यक्ष डेन्जिङ्ग रायमाझी, उप सचिव दिलिप गाँहासहित एमाले नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । उम्मेदवार गैरेले शनिबार बगनासकाली ६ यम्घाका विभिन्न टोल र घरदैलोमा पुगेर मतदातासंग भेटघाटलाई तीव्रता दिनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय