
पाल्पा । रिब्दीकोटको गाउँपालिकामा रहेको जैविक मल उद्योग स्तरोन्नतिका लागि त्रिपक्षीय समझदारी भएको छ ।
गाउँपालिकाको ५ नं. वडा, कुसुमखोलामा स्थापना भएर सञ्चालनमा रहेको प्राङ्गारिक मल उद्योगको स्तरोन्नति, उत्पादन क्षमता अभिवृद्धि तथा जैविक मलको प्रवर्धनमा सहयोग हुनेगरी गाउँपालिका, हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल र श्री जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच त्रिपक्षीय समझदारी भएको हो ।
समझदारी पत्रमा गाउँपालिकाकोतर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, हेफर प्रोजेक्टको तर्फबाट राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी र सहकारी संस्थाको तर्फबाट अध्यक्ष शिव कुँवरले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षर कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले दिगो कृषि विकासका लागि जैविक मल उत्पादन अपरिहार्य रहेको बताउनुभयो । उहाँले माटोको उर्वराशक्ति संरक्षण, कृषकको उत्पादन लागत न्यूनीकरण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासायनिक मलमा बढ्दो निर्भरता घटाउँदै स्थानीय स्रोतको उपयोगमार्फत जैविक मल उत्पादन गर्नु आजको आवश्यकता रहेको अध्यक्ष कार्कीको भनाइ छ
हेफर प्रोजेक्टका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले वन क्षेत्रमा रहेका जैविक अवशेषको उचित व्यवस्थापन नहुँदा डढेलोको जोखिम बढिरहेको बताउनुभयो । उहाँले यस कार्यक्रमले वन डढेलो न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । जैविक मल उत्पादनले जैविक विविधता संरक्षण, माटोको जैविक पदार्थ ह्रास न्यूनीकरण, साथै मानव स्वास्थ्य, माटो स्वास्थ्य र वातावरणीय स्वास्थ्य सुधारमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने राष्ट्रिय निर्देशक डा. रेग्मीले बताउनुभयो ।
हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालका बजार विकास लिड डा.राज कुमार अधिकारीले समझदारीको उद्देश्य जैविक मल उद्योगको उत्पादन क्षमता र गुणस्तर अभिवृद्धि गर्दै स्थानीय बजारमा भरपर्दो जैविक मलको पहुँच विस्तार गर्नु रहेको बताउनुभयो । उहाँले कृषकलाई जैविक कृषितर्फ रूपान्तरण गर्न सहजीकरण गर्ने र दीर्घकालमा स्थानीय हरित अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताउनुभयो ।
समझदारी अनुसार कुल ६९ लाख लागतमा गरिने स्तरोन्नतिको काममा त्रिपक्षीय लगानी रहनेछ । कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापनको प्रमुख जिम्मेवारी सहकारी संस्थाको गर्ने छ भने प्राविधिक सहयोग, क्षमता अभिवृद्धि तथा समन्वयमा हेफर प्रोजेक्ट र गाउँपालिकाको जिम्मेवारी रहने गउाँपालिकाले जनाएको छ ।








