पाल्पा २ मा एमालेको सहज जित हुन्छ  : नेता गैरे

पाल्पा । नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमालेले सबैभन्दा सजिलो र सहज ढंगले विजय हुने अवस्था रहेको बताउनुभएको छ । उहाँले २०७९ को निर्वाचनमा गठबन्धन भन्दा एमालेको बिचमा मत अन्तर धेरै भएपनि पार्टीका नेता र कार्यकताको कठिन मेहनत र एकताबद्ध पहलबाट आफूले निर्वाचन जितेको स्मरण गर्दै अहिले एकल प्रतिस्पर्धा हुँदा झन एमालेको जित सहज रहेको बताउनुभयो ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा बुधबार नेकपा एमाले तानसेन नगर कमिटीले आयोजना गरेको बैठममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज समेत रहेका नेता गैरेले पछिल्लो समय जनताका आफू प्रति केही गुनासाहरु रहेको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो अवस्था नआउने बताउदै पाल्पाको विकास र समृद्धिका पक्षमा सडकदेखि सदनसम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ३१ महिनामा सुरु गरेका र गर्न बाँकी कामहरु लाई उपलब्धिमूलक बनाउन पुन एकपटक आफ्नो उम्मेदवारी रहेको बताउदै नेता गैरेले क्रमिक रुपमा नागरिकका गुनासो सम्बोधन गर्न काम गर्ने बताउनुभयो ।

बैठकमा नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले यो निर्वाचन पार्टीका उम्मेदवारको जित हारको नभै देशले जित्ने कि हार्ने भन्ने विषयसंग जोडिएको बताउनुभयो । उहाँले एमालेका उम्मेदवारले निर्वाचन जित्दा देशले जित्ने भएकालेले आफ्ना उम्मेदवारलाई विजयी बनाउन क्रियाशील हुनुपर्ने बताउनुभयो । पाल्पाको पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, खानेपानी, सडकलगायतका क्षेत्रको विकासमा नेता गैरेले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

बैठकले निर्वाचनमा परिचालन तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरेको नेकपा एमाले तानसेन नगरकमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । यसका साथै उहाँले माघ २१ गतेसम्म १४ वटा वडा कमिटी बैठक सकेर २२ गतेदेखि क्रमश वडाहरुका टोल तथा घरदैलोमा मतदातासंग भेटघाट कार्यक्रम संचालन गर्ने गरी योजना तयार गरिएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय