एमाले माथागढीको निर्वाचन तयारी बैठक सम्पन्न

पाल्पा । नेकपा एमाले माथागढी गाउँ कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा विस्तारित बैठक सम्पन्न गरेको छ । फागुन २१ गते तोकिएको निर्वाचनको तयारीका सन्र्दभमा माथागढी गाउँपालिका ३ नं. वडाको कसेनी, सराईमा बैठक आयोजना गरिएको हो ।

पाल्पा निर्वाचन क्षेत्र नं. १ अन्तरगत पर्ने माथागढी, तानसेन नगरपपालिको र तिनाउ गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बैठकले नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित जिम्मेवारी समेत तोकिएको छ ।

बैठकमा नेकपा एमाले पूर्व पोलिटब्यूरो सदस्य दलबहादुर रानाले अहिले पुराना दल र नेताहरु लाई देखाएर नयाँ शक्तीको नाममा भइरहेका गतिविधि मुलुकको हितमा नभएकोले बताउनुभयो । उहाँले सबै नेपाली जनताले विवेक प्रयोग गरी एमालेका उम्मेदवारलाई मतदान गरी देश जोगाउने पक्षमा उभिन आग्रह गर्नुभयो ।

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले भूगोल बुझेका, जनताको घरदैलोमा पुगेका, सुख दुःखमा साथ दिने नेता एमालेका उम्मेदवार रहेको बताउनुभयो । उहाँले भावनामा बहकिएर नभै विकासको मर्म बुझेका अनुभवी नेताहरुलाई निर्वाचनमा विजयी बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

नेकपा एमाले पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले एमाले पार्टीले पूर्वी पाल्पाको विकास निर्माण, आय आर्यजनको क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, स्वरोजगार र आर्थिक विकाससंग जोडिएका थुप्रै विकास निर्माणका कामहरु भएको बताउनुभयो । आफ्नो ५ वर्षे कार्यकाल भएपनि विशेष परिस्थितिले ३१ महिनाको अवधीमा पुन निर्वाचनमा होमिनु परेको बताउदै उम्मेदवार आचार्यले सुरु गरेका विकास योजनाहरु पूरा गर्नको लागि पुन एकपटक विजयी बनाउन आग्रह गर्नुभयो ।

बैठकमा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्ल, एमाले माथागढी गाउँ कमिटीका अध्यक्ष मान बहादुर राना, सचिव बालकृष्ण राउतलगायतले पाल्पा निर्वाचन क्षेत्र नं. १ को विकासमा पार्टीले महत्वपूर्ण समय खर्च गरेको बताउनुभयो । उहाँहरुले सुरु गरेका विकासका काम र गर्न बाँकी विकासको खाका पनि एमालेसंगै भएकोले आफ्ना उम्मेदवार जिताउन इमान्दार रुपमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर