
पाल्पा । माथागढी गाउँपालिका ३ नं. वडा कसेनीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू स्थानीय स्वास्थ्य सेवा प्रवाहको मेरुदण्ड भएको बताउनुभयो । उहाँले स्वास्थ्य संस्था भन्दा टाढा रहेका नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउन स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । स्वयमसेविकालाई मानसिक स्वास्थ्य र नसर्ने रोगबारे ज्ञान अभिवृद्धि हुनु समुदायको समग्र स्वास्थ्य सुधारतर्फको ठोस कदम रहेको अध्यक्ष चिदीको भनाइ थियो ।
कार्यक्रम ३ नं. वडा कसेनीका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले समुदायसँग नजिक भएर काम गर्ने भएकाले महिला, ज्येष्ठ नागरिक र जोखिममा रहेका समूहसम्म सही सूचना पु¥याउन अभिमुखीकरणदे सजिलो बनाउने बताउनुभयो । उहाँले रोगको रोकथाम, जटिलता न्यूनीकरण र स्वास्थ्य संस्थामाथिको बोझ घटाउन मद्दत गर्ने बताउनुभयो । समग्रमा अभिमुखीकरणले समुदायको समग्र स्वास्थ्य सुधार र दीगो स्वास्थ्य प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने वडाध्यक्ष घर्तीमगरको भनाइ छ ।
गाउँपालिकाका १, २, ३ र ४ का महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको अभिमुखीकरणमा रुप्से स्वास्थ्य चौकी प्रमुख सि.अ.हे.ब. विक्रम चिदी र गाउँपालिकाका जनस्वास्थ्य अधिकृत झरना मारसिनीले डिप्रेसन, चिन्ता, तनावजस्ता मानसिक समस्या तथा उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगका प्रारम्भिक लक्षण पहिचान, स्वस्थ जीवनशैली र औषधि नियमित गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभएको कसेनी स्वास्थ्य चौकी प्रमुख पवि सरा चिदीले जानकारी दिनुभयो ।








