
पाल्पा । रिब्दीकोट गाउँपालिकाको आयोजनामा आठ दिने उद्यमशीलता तालिम सुरु भएको छ । गरिबी निवारणका लागी लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत ८ दिने उद्यमशीलता विकास तालिम दिइएको हो । तालिममा गाउँपालिकाका २, ३, ४ र ५ वडाका २४ जनाको सहभागिता रहेको मेडपा सहजकर्ता मेनुका बस्नेतले जानकारी दिनुभयो ।
तालिम शुभारम्भका अवसरमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले उद्यमशीलता विकास तालिमले व्यक्तिमा आफ्नै व्यवसाय सुरु गर्ने आत्मविश्वास र सीप विकास गर्न सहयोग पुग्ने विश्वस व्यक्त गर्नुभयो । उहाँले तालिममार्फत व्यवसायिक सोच, योजना बनाउने क्षमता, जोखिम व्यवस्थापन, बजार पहिचान तथा वित्तीय व्यवस्थापनजस्ता महत्वपूर्ण ज्ञान प्राप्त हुने र व्यवहारमा लागु गरे आर्थिक रुपमा बलियो बन्न सकिने बताउनुभयो ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सीप र ज्ञान बढेसँगै रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो । उहाँले स्वरोजगारतर्फ आकर्षण बढ्ने र आम्दानीका स्रोत विस्तार हुने सम्भावना बढ्ने भएकोले तालिममा सक्रिय सहभागिताका लागि आग्रह र्गाुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले उद्यमशीलता तालिमले नवप्रवर्तनशील सोचको विकास गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले यसका साथै स्थानीय स्रोत साधनको सदुपयोगमार्फत दिगो आर्थिक विकासका आधारहरु तयार गर्न तालिम उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्षहरु ओम प्रसाद पोखरेल, नारायण बहादुर के.सी वरिष्ठ लेखा सहायक सुर्य बहादुर थापालगायतले तालिमबाट प्राप्त गरेको ज्ञान, सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्दै अर्थोपार्जनमा लगाउदा जीवनस्तरमा परिर्वतन ल्याउन सकिने बताउनुभयो । उहाँहरुले सहभागीहरुको रुचि र चाहना अनुसार उद्यमी बन्न लागि आवश्यक वातावरण निर्माणमा सहयोग र सहजीकरण गर्न गाउँपालिका सधै तयार रहने प्रतिबद्धता समेत व्यक्त गनुृभयो ।








