विषादी न्यूनीकरणका वैकल्पिक उपाय सम्बन्धी तालिम

पाल्पा । माथागढी गाउँपालिकाका अगुवा कृषकलाई विषादी न्यूनीकरण तथा वैकल्पिक उपाय सम्बन्धी तालिम दिइएको छ ।

गाउँपालिकाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अगुवा कृषकहरूका लागि रासायनिक विषादीको प्रयोगमा न्यूनीकरण तथा वैकल्पिक उपाय अवलम्बन सम्बन्धी तालिम दिइएको हो ।

तालिममा कृषकहरूलाई सुरक्षित, पोषणमैत्री तथा दिगो कृषि अभ्यासतर्फ अभिमुख गराउँदै मानव स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा कृषि अधिकृत समीक्षा ढकाल र कृषि प्राविधिक शशी विष्टले रासायनिक विषादीको असर, सुरक्षित प्रयोग विधि तथा एकीकृत कीट व्यवस्थापन प्रणालीका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले कृषिमा अत्यधिक रासायनिक विषादीको प्रयोगले माटो, पानी, वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर असर परेको बताउनुभयो । उहाँले विषदीको विकल्प खोजेर खेती गर्न कृषकहरुलाई सहयोग गर्न तालिम गरिएको बताउनुभयो । “कृषकहरूले उत्पादन बढाउने नाममा प्रयोग गर्ने रासायनिक विषादीले दीर्घकालीन रूपमा स्वास्थ्य र वातावरणमा ठूलो जोखिम सिर्जना गरेको अध्यक्ष चिदीको भनाइ थियो । यसलाई न्यूनिकरण गर्दै जैविक तथा वैकल्पिक उपाय अपनाउनु नै सुरक्षित र दिगो कृषि प्रणालीतर्फको मार्ग रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष विष्णु माया लुङ्चेले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुरक्षित खाद्य उत्पादन र उपभोगलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले तालिममा सहभागीहरुमा कृषिमा नयाँ सोच र व्यवहार परिवर्तन ल्याउन सहयोग गरेको बताउनुभयो ।

गाउँपालिकाका आर्थिक विकास समिति संयोजक तथा ३ नं. वडाध्यक्ष तेजबहादुर घर्ती मगरको माथागढी सरकारले कृषकहरूको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको बताउनुभयो । उहाँले तालिमले कृषकहरूलाई व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुग्ने भएकोले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके मात्रै यसको वास्तविक उपलब्धि देखिन्छ बताउनुभयो । अगुवा कृषकहरूले सिकेको सीप अन्य कृषकहरूसम्म पु¥याउन वडाध्यक्ष घर्तीमगरले आग्रह गर्नुभयो ।

त्यसैगरी ३ नं. वडा कसेनीका वडा सदस्य मानबहादुर रानाले तालिमले कृषकहरूमा सचेतना बढाउने र उत्पादनको गुणस्तर सुधारमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको पोषण सहजकर्ता देउकी माया बयम्बूले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय