उच्च कार्यक्षमता भएका स्वच्छ चुल्हो बाड्दै तिनाउ

पाल्पा । तिनाउ गाउँपालिकाले उच्च कार्यक्षमता भएका स्वच्छ चुल्हो बाड्ने भएको छ । गाउँपालिका भित्र रहेका परम्परागत चुल्होहरूलाई विस्थापित गरी उच्च क्षमताका सुधारिएको चुल्हो वितरण गर्न लागेको हो ।

नागरिकलाई चुल्हो निशुल्क रुपमा वितरण गर्न गाउँपालिका र नेपाल ट्रेजर कार्बन प्रा.लि. बिच सम्झौता भएको छ । सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यक्ष प्रेम श्रेष्ठ र प्रालिका तर्फबाट सामना सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार गाउँपालिकाले लाभग्राही छनोट र सिफारिस गर्ने छ भने प्रालिले पहिलो चरणमा नमुनाका लागि छनोट भएका करिब ६० घरका लागि चुल्हो वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षबाट गाउँपालिकाका सबै घरधुरीलाई प्राथमिकताका आधारमा चुल्लो वितरण गरिदै लगिने बताउनुभयो । चुल्हो उपलब्ध गराएपछि प्रालिले १५ वर्षसम्म जिपिएस लोकेशन ट्रायक गरी विग्रीएको अवस्थामा मर्मत सेवा समेत दिने प्रमुख प्रशासकीय अधिकृत सारुको भनाइ छ ।

उच्च कार्यक्षमता भएका स्वच्छ चुल्होहरूले परम्परागत चुल्होको तुलनामा कम इन्धन प्रयोग गरी बढी ताप उत्पादन गर्ने भएकाले दाउरा, ग्यास वा अन्य इन्धनको बचत हुने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले यसले घरायसी खर्च घटाउनुका साथै वनजंगल संरक्षणमा समेत मद्दत पु¥याउने बताउनुभयो । यस्ता चुल्होबाट निस्कने धुवाँ अत्यन्त कम हुने भएकाले घरभित्रको वायु प्रदूषण घट्छ र विशेषगरी महिला, बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । साथै, खाना छिटो पक्ने, भान्साको वातावरण सफा रहने र कार्बन उत्सर्जन कम हुने भएकाले वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणमा पनि उपयोगी हुने भएकोले चुल्लो वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

उच्च कार्यक्षमता भएका स्वच्छ चुल्हो प्रयोग गर्दा दैनिकीका धेरै काम सहज हुने प्रशासन शाखा प्रमुख काशीनाथ आचार्यले बताउनुभयो । उहाँले भान्सा सफा रहने, भाँडाकुँडा कम कालो हुने र सफाइमा कम समय लाग्ने हुँदा अन्य घरायसी काम गर्न सहज हुन्ने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय