
पाल्पा । निस्दी गाउँपालिका पाल्पाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि २ नं. वडा सहलकोटको अंशुवर्मा माध्यमिक विद्यालये जितेको छ ।
निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सञ्चालन भएको प्रतियोगितामा अंशुवर्मा माविले ५ स्वर्ण, ३ रजत र १ कास्य सहित ९ पदक प्राप्त गरी पहिलो बनेको हो । त्यसैगरी ४ नं. वडा मित्यालमा रहेको गौरी शंकर माध्यमिक विद्यालय दोस्रो भएको हो । गौरीशंकरले ४ स्वर्ण, १ रजत र ८ कास्यसहित १३ पदक प्राप्त गरी दोस्रो भएको हो । ५ नं. वडा गल्धाको जनता माध्यमिक विद्यालयले ३ स्वर्ण, १ रजत र ३ कास्य सहित ७ पदक जितेर तेस्रो भएको शिक्षा शाखाका स्रोत व्यक्ति नरबहादुर थापाले जानकारी दिनुभयो ।
माघ १० गते देखि १२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र ९ र छात्रा ९ विधा गरी जम्मा १८ विधामा गाउँपालिका भित्रका १२ माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरुले प्रधिस्पर्धा गरेका थिए ।
प्रतियोगिता समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले विजयी विद्यार्थीहरुलाई शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्दै खेलकुदको माध्यमबाट आफ्नो गाउँ–ठाउँ र राष्ट्रका लागि योगदान पु¥याउन सकिने बताउनुभयो । उहाँले खेलकुदले अनुशासित हुन र सामूहिक कार्य गर्न सिकाउने भएकोले गाउँपालिकाले प्राथमिकताका साथ विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले खेलकुदको संरक्षणले स्थानीय स्तरका खेलाडीहरुको वृद्धि र विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले आवश्यकता र रुचि अनुसार खेलकुदका गतिविधिमा गाउँपालिकाले सघाएको बताउदै खेलकुदले मानिसलाई मानसिक र शारीरिक रुपमा स्वस्थ रहन मद्दत गर्ने बताउनुभयो ।
सोही अवसरमा आयोजना गरिएको आधारभूत तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा जीवनज्योति आधारभूत विद्यालयका सुवेच्छा सोती प्रथम हुनुभएको छ । त्यसैगरी जनप्रिय माध्यमिक विद्यालय ज्यामिरेकी तिर्सना गाहा दोस्रो र र सिन्दुर आधारभूत विद्यालय अर्चलेकी खुशी दर्लामी तेस्रो भएको गाउँपालिकाले जनाएको छ ।








