कुष्ठरोगबारे समाजमा अझै अन्धविश्वास कायमै

पाल्पा । कुष्ठरोगको बारेमा समाजमा अझै पनि अन्धविश्वास र गलत धारणा व्याप्त रहेको सरोकारवालाले बताएका छन् । जनचेतनामार्फत कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने तथा परिवारभित्र माया, ममता र सहयोग बढाउन सके मात्र कुष्ठरोगको प्रभावकारी निदान र निवारण सम्भव हुने उनीहरूको भनाइ छ ।

७३ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले भेदभाव र लाञ्छनाका कारण कुष्ठरोगीहरू समाजमा खुल्न नसक्दा समस्या झन् जटिल बन्दै गएको बताएका हुन । कुष्ठरोग लुकाउने प्रवृत्तिले उपचारमा ढिलाइ हुने र अन्ततः अपाङ्गता समेत निम्तिन सक्ने उनीहरूको धारणा थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले पाल्पामा कुष्ठरोगीको संख्या बढ्दो रहेको बताउनुभयो । उहाँले आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने एउटा सरुवा रोग नै कुष्ठरोग भएको बताउनुभयो । यो रोग औषधि खाएपछि निको हुने उहाँले बताउनुभयो । पाल्पा जिल्लामा पुस मसान्तसम्म १७ जना कुष्ठरोगी सक्रिय रहेको प्रमुख पोखरेलले जानकारी दिनुभयो । उनीहरूले स्थानीय तहका स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार सेवा लिइरहेको उहाँको भनाइ छ । शरीरमा न्यूनतम पाँच वटा दागसम्म भएका बिरामीले ६ महिना र पाँच भन्दा बढी दाग भएका बिरामीले एक वर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने प्रमुख पोखरेलले बताउनुभयो । यसको उपचार पूर्ण रूपमा निःशुल्क रहेको र यातायात खर्चबापत एक हजार रुपैयाँ उपलब्ध गराइने भएकाले शङ्कास्पद लक्षण देखिएका बिरामीलाई समयमै स्वास्थ्य संस्था गएर परीक्षण गर्ने वातावरण निर्माणमा सबै पक्ष जिम्मेबार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै, स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले कुष्ठरोगका लक्षण, उपचार र जोगिने उपायबारे जानकारी गराउनुभयो । उहाँका अनुसार शरीरको कुनै भागमा छोएर पनि थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखिनु कुष्ठरोगको प्रारम्भिक लक्षण हो । रोग बढ्दै जाँदा अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु, आँखीभौं झर्नु, हातखुट्टा झम–झम हुनु, स्नायु सुन्निनु तथा मांसपेशी कमजोर हुनुजस्ता लक्षण देखा पर्न सक्छन् । समयमै पहिचान र उपचार नगरे अपाङ्गता समेत हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले समाजमा कुष्ठरोगप्रतिको पुरानो सोच अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताउनुभयो । अझै पनि कुष्ठरोगलाई महारोगकै रूपमा लिने भ्रम रहेको उल्लेख गर्दै उहाँले यो रोग कम सर्ने र अन्य रोगसरह नियमित उपचारपछि निको हुने तथ्यबारे ग्रामीणस्तरसम्म जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । अन्य पहाडी जिल्लामा भन्दा पाल्पामा विगत तीन वर्षयता कुष्ठरोगीको संख्या बढ्दो रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । (करूवा अर्धसाप्ताहिकबाट)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय