
पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी बन्न पाल्पामा ३० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंगलबार भएको मनोनयन दर्तामा दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नम्बर १ मा १३ र क्षेत्र नम्बर २ मा १७ जना गरी ३० जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । जसमा क्षेत्र नं १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन दर्ता गराउनेहरुमा पाल्पा क्षेत्र नम्बर १ मा निर्वतमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका विकास प्रेमी नेताका रुपमा परिचित नेकपा एमालेका नारायणप्रसाद आचार्य, युवा नेता सामाजिक अभियन्तासमेत रहनुभएका नेपाली कांग्रेसका सन्दीप राना, नेपाली कम्युनिष्ट पार्टीका हुमबहादुर सुनारी मगर, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीका बृहस्पति अर्याल, राष्ट्रिय जनमोर्चाका नरमती सिंजाली, नेशनल रिपब्लिकन नेपालका थमनसिं रेस्मी मगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पुरन गैह्रे शर्मा, मंगोल नेशनल अर्गनाइजेशनका सलन चिदीमगर रहनुभएको क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो । उहाँले कोशल अर्याल, डिल्लीराज काफ्ले, युद्धबहादुर विरकट्टा, वाछा दली मियाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको बताउनुभयो ।
यस्तैगरी क्षेत्र नम्बर २ मा निर्वतमान प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका युवा नेता नेकपा एमालेका ठाकुरप्रसाद गैरे, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका पूर्व उद्योगमन्त्रीसमेत रहनुभएका सोमप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका बालबहादुर दर्लामी (विशाल) मंगोल नेशनल अर्गनाइजेशनका मानबहादुर दर्लामी, सार्वभौम नागरिक पार्टीका रामबहादुर अस्लामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विष्णु ठडराई सार्की, प्रगतिशील लोकतान्त्रिक पार्टीका बोधराज जैसी (कृष्ण)ले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत हरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल मजदुर किसान पार्टीका कृष्ण शोभा मुस्याख्व, जनता समाज पार्टीका खिकबहादुर रेस्मी मगर, राष्ट्रिय जनमुक्ति पार्टीका टोपबहादुर अस्लामी, नेशनल रिपब्लिकन नेपालका देवप्रसाद श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ । देवीप्रसाद भण्डारी, मोहन थापा, केशवप्रसाद बस्यालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताउनुभयो ।








