टिकट खोसिएका डा.राउतले गरे सूर्य चिन्हमा मतदानको आह्वान

पाल्पा । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारको टिकट खोसिएका डा. रामबहादुर राउतले सूर्य चिन्हमा मदतान गर्न आह्वान गर्नुभएको छ । उहाँले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर सूर्यध्वजाबाहक उम्मेदवारलाई विजयी बनाउदै राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्न प्रेस विज्ञप्ती मार्फत आह्वान गर्नुभएको हो ।

डा. राउतले पाल्पा क्षेत्र नं २ का मतदाताहरुलाई आमनिर्वाचनका लागि भएको टिकटको सिफासिरदेखि टिकट खोसिदासम्मको यथार्य अवस्था बारे मतदातालाई जानकारी गराउदै मनोनयन प्रकृया सफल पार्न पाल्नुहुने सम्पूर्ण नेता तथा कार्यकर्ताहरु प्रति हार्दिक आभार व्यक्त गर्र्नुभएको छ । साथै आफ्नो टिकट आउँदा चुनावी हौसला र खोसिदा सान्त्वना दिने र गलत निर्णयका विरुद्धमा आवाज उठाउने सम्पूर्ण शुभचिन्तकहरु प्रति कृतज्ञता समेत ज्ञापन गर्नुभएको छ ।

डा.राउतले अन्यायमा परेको व्यक्तिलाई टिकटका विषयलाई जोडेर भ्रम छर्ने प्रयास कोही कसैले नगर्न र अरुलाई तल पारेर आफू माथि परिन्छ भन्ने सपना नदेख्न आग्रह गर्दै हात तान्दा माथि पुगिने र खुट्टा तान्दा तलै पर्ने अवस्था रहने स्मरण गराउनुभएको छ । पाल्पा निर्वाचन क्षेत्र नं. २ मा पहिला एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाममा टिकट आएको थियो । त्यसपछि डा.राउतले प्राप्त गर्नुभएको थियो । अन्तिम समयमा फेरिएर नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज,निर्वतमान प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेको नाममा आएको हो । जस अनुसार गैरेले मंगलबार मनोनयन दर्ता गर्नुभएको छ ।

विज्ञप्ति हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय