माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य तीव्र

पाल्पा । माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ । निर्माण सुरु भएको करिब नौ महिनाको समयावधीमा भवनको ५० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय विष्णुकुमारी जिसीबाट ४ रोपनी, स्यामबहादुर जिसीबाट ३ रोपनी र मीनाकुमारी जिसीबाट १ रोपनी ८ आना १ पैसा जग्गा ४ नं. वडा झडेवा, चिउरेमाटीमा निशुल्क प्राप्त भएपछि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माण सुरु भएको भवनको हालसम्म ३८ दशमलव ७१ प्रतिशत कुल वित्तिय प्रगति भएको छ ।

गाउँपालिकाले भवन निर्माणका लागि २०८२ चैत्र २२ गते नेरिसा–जेसिका–साहिल जे.भि. काठमाण्डौ संग ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनी संग ६ करोड ७६ लाख ८५ हजार ४ सय ८८ रुपैंया ८५ पैसामा सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यो रकम मुल्य समायोजन बाहेक र मुल्य अभिवृद्धि कर सहित सम्झौता गरिएको हो ।

माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले प्रशासकीय भवन नहुँदा सेवा प्रदायक र सेवाग्राहीहरुलाई कार्यसम्पादनमा समस्या भएको बताउनुभयो । उहाँले अन्य स्थानमा कार्यालयहरु व्यवस्थापन गर्दा खर्च समेत बढेको बताउनुभयो । जसलाई मध्यनजर गरी भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको गाउँपालिका अध्यक्ष चिदीले बताउनुभयो । उहाँले भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने बताउनुभयो ।

भवनमा अपाङ्गमैत्री, बालमैत्री, भूकम्प प्रतिरोधी र व्यवस्थित पार्किङसहित तीन सय जना अटने सभा हल र ५५ वटा कोठा निर्माण हुने गाउँपालिकाका इन्जिनियर धर्मेन्द्रकुमार यादवले बताउनुभयो । उहाँले स्टोर, शौचालय र चमेनागृह समेत निर्माण भइरहेको बताउनुभयो । भवनको पहिलो तल्ला निर्माण सम्पन्न भएपश्चात दोश्रो तल्लाको ढलान हुने तयारी भइरहेको इन्जिनियर यादवले जानकारी दिनुभयो । अव एक दुई दिनमै ढलान गरेर फिनिसिङ्गको काम सुरु गरिने उहाँले बताउनुभयो । सम्झौता अनुसार २०८३ चैत्र २२ गते निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । समयमै निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनी नेरिसा–जेसिका–साहिल जे.भि. काठमाण्डौले बताएको छ ।

भवन निर्माणमा अहिले सम्म २ करोड ६२ लाख २ हजार ६ सय २० रुपैंया ४३ पैसा निर्माण व्यवसायीलाई भुक्तानी भइसकेको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८२÷८३ मा गाउँपालिकाबाट भवन निर्माणका लागि एक करोड रुपैंया विनियोजन गरिएको थियो । जसमा तस्रो र चौंथो रनिङ्ग बील पेश गरी ठेकेदार कम्पनीले भुक्तानी लिइसकेको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिनुभयो । बन्दै गरेको भवनको कुल लागतमा ६० प्रतिशत स्थानीय पूर्वाधार विभाग र ४० प्रतिशत गाउँपालिकाको साझेदारीमा निर्माण हुने उहाँले बताउनुभयो । (करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय