
पाल्पा । रिब्दीकोट ७ नं. वडा पालुङमैनादीको आयोजनामा माघ ६ गते सुन्तला खाने प्रतियोगिता हुने भएको छ ।
सुन्तला खेतीतर्फ किसानको आकर्षण बढाउने, सुन्तलाको क्षेत्र विस्तार, उत्पादनको प्रवद्र्धन, उत्पादनको उचित मूल्य सुनिश्चित गर्न तथा बजार विस्तार र विविधिकरणमा मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।
प्रतियोगितामा स्याङजा, पाल्पा, अर्घाखाची, सल्यानलगायतका जिल्लाको सुन्तला प्रदर्शनी हुनुका साथै सुन्तलाको महत्वका विषयमा जानकारी गराइन ७ नं. वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले किसानको मेहनतलाई सम्मान गर्नु र समुदायबीच मनोरञ्जन तथा आत्मीयता बढाउन प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो । सुन्तला जस्तो पोषिलो फलफूलको उपभोग बढाउन प्रोत्साहन गर्दै स्वस्थ खानपानप्रति जनचेतना फैलाउँछ र स्थानीय पर्यटन र बजार चलायमान बनाउन प्रतियोगिताले मद्दत गर्ने वडाध्यक्ष कुँवरको भनाइ छ ।
यस अघि पनि रिब्दीकोट गाउँपालिका एक्लै र रैनादेवी छहरा गाउँपालिकासंग मिलेर सुन्तला महोत्सव आयोजना गरेको थियो । अहिले नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला खेती गर्ने कृषक धेरै छन् । रिब्दीकोट गाउँपालिकाका आठ वटा वडामध्ये चारवटा वडा र रैनादेवीका केही वडाका किसानहरू केही वर्ष यता व्यवसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । स्थानीय कृषकले उत्पादन गरेको सुन्तलाको उचित मूल्य, बजारीकरण र प्रवर्धनका लागि गरिएको सुन्तला खाने प्रतियोगिताले सुन्तला कृषकहरुलाई हौसला थप्ने स्थानीय सरोकारवालाहरुको भनाइ छ ।








