शौचालय सरसफाईमा समुदायको अग्रसरता

पाल्पा । माथागढी गाउँपालिका ४ नं. को देवगिरमा निर्माण भएको सार्वजनिक शौचालय सरसफाईमा स्थानीय समुदायले अग्रसरता लिएका छन् । जहाँ शौचालयको सरसफाई पालो बाँडेर गर्ने गरिएको छ । गाउँपालिकाको बरिब साढे पाँच लाख रुपैंयाँ खर्च गरेर निर्माण भएको सार्वजनिक शौचालय प्रयोग र सरसफाईमा समुदायले अपनत्व लिँर्दै पालो बाँडेर सफा गर्ने गरेका हुन् ।

अधिकांश स्थानका रहेका सार्वजनिक शौचालय फोहरका कारण प्रयोग गर्न मिल्ने अवस्थामा नरहने गरेकोले आफूहरुले उदाहरण दिनका लागि सबै समुदाय मिलेर शौचालन सफा गर्ने निर्णय गरेको देवगिर सामुदायिक शौचालय उपभोक्ता समितिका अध्यक्ष डम्बर बहादुर सारुले बताउनुभयो । उहाँले “शौचालय निशुल्क रुपमा सञ्चालन गर्ने र दैनिक रुपमा स्थानीयले पाले बाँडेर सफा गर्ने गरिएको बताउनुभयो । अहिले हप्ता दश दिनमा एक घरको एक पटक पालो पर्ने गरेको अध्यक्ष सारुको भनाइ छ ।

देवगिर बजारका सबै घरपरिवारले पालो बाँडेर दैनिक रुपमा शौचालयको सरसफाई गर्ने गरेका छन् । जसले गर्दा सार्वजनिक शौचालय प्रयोग गर्नेहरुलाई पनि सहज भएको छ । दैनिक २ घरपरिवारले मिलेर शौचालय सफा गर्ने गरिएको छ । माथागढी गाउँपालिकाको ५ लाख रुपैंया र श्रमदान वापत ७९ हजार २५ रुपैंयाको लागतमा शौचालय निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडाका वडाध्यक्ष शंकर दर्लामीले बताउनुभयो ।

माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले सार्वजनिक शौचालय सरसफाई र प्रयोगमा देवगिरका नागरिकले गरेको काम प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले सामुदायिक सहकार्यको भावना अन्य वडाका नागरिकहरुका लागि पे्ररणाको श्रोत बनेको बताउनुभयो । यहाँ सार्वजनिक शौचालय बन्नुभन्दा पहिले जताततै दिशापिसाव गरेर फोहर हुने समस्या रहेको र अहिले शौचालय बनेपछि समस्या हटेको स्थानीयबासीले बताएका छन् । हाम्रो लागि निर्माण भएको शौचालयको व्यवस्थापन हामीले नै गर्दा राम्रो हुने भएकोले समूहमा मिलेर काम गरिएको उनीहरुको भनाइ छ ।

सम्बन्धित खवर