
पाल्पा । तिनाउ गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार्न शिक्षालाई विशेष प्राथमिकता दिएको जनाएको छ । भैगोलिक विकटता र बिचमै अध्ययन छाड्ने विद्यार्थीको समस्यालाई मध्यनजर गरी शैक्षिक सुधारमा गाउँपालिकाले ध्यान केन्द्रित गरेको हो ।
गत वर्षदेखि गाउँपालिकाले एसईईको नतिजा सुधार गर्नका लागि विद्यार्थीलाई आवासिय छात्राबासमा बसेर अध्ययन गर्नका लागि दैनिक एक सय रुपैयाँका दरले मासिक तीन हजार उपलब्ध गराउदै आएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले नतिजा सुधारका लागि गाउँपालिकाले पुस, माघ र फागुन गरी तीन महिनाका लागि विद्यार्थीलाई आवासिय सुविधा बापत रकम सहयोग गर्दै आएको बताउनुभयो । जसले गर्दा नतिजामा उल्लेख्य सुधार आएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यो वर्ष गाउँपालिकाभित्रका नौ वटा माध्यमिक विद्यालयका दुई सय ३४ जना विद्यार्थीका लागि अस्थायी छात्रावास सञ्चालन गरिएको छ । विद्यालयमै बस्ने र खाने सुविधा भएपछि आगामी चैतमा हुने एसईई परीक्षामा सहभागी हुने विद्याथीले अतिरिक्त समयमा पनि कक्षा लिन पाएका छन् । विद्यालयमै छात्रावास सञ्चालन गरेपछि गत शैक्षिक सत्र २०८१ मा एसईईको नतिजामा सुधार भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी कुवँरले बताउनुभयो । अघिल्लो शैक्षिक सत्र २०८० मा दुई सय ६६ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा जम्मा १२ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । छात्रावास सञ्चालन भएपछि गत शैक्षिक सत्र २०८१ मा दुई सय ३३ जना विद्यार्थी सहभागी परीक्षाको नतिजामा सुधार भई ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो ।
छात्रावास सञ्चालनका लागि गत आर्थिक वर्षमा २०८१/८२ मा १९ लाख ७९ हजार छ सय रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूले बताउनुभयो । यो वर्ष आवासीय सुविधा लिएर अध्ययन गर्ने दुई सय ३४ जनाका विद्यार्थीका लागि बजेट विनियोजन गरेर कार्यान्वयनमा गइएको उहाँले बताउनुभयो । गाउँपालिकाले तिनाउका विद्यालयमा स्थायी छात्रावास व्यवस्थाका लागि भवन तथा अन्य पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेर काम शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत सारूले बताउनुभयो । यस वर्ष पृथ्वीप्रकाश माध्यमिक विद्यालयमा एक करोड २८ लाख बजेटबाट छात्रावास भवन निर्माण भइरहेको उहाँले बताउनुभयो ।
यस्तै मस्याम माध्यमिक विद्यालय ५५ लाख, युवावर्ष माध्यमिक विद्यालय र ज्ञानोदय माध्यमिक विद्यालयमा १५÷१५ लाख बजेटबाट पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका प्रवक्ता यादव अर्यालले बताउनुभयो । तिनाउले दुई वर्षअघिदेखि विद्यार्थी कम भएका विद्यालयको कक्षा घटुवा गरेर मस्याम माविमा स्थायी छात्रावास सञ्चालन गरिरहेको छ । कक्षा घटुवा गरेर छात्रावास सञ्चालन गरेपछि विद्यार्थीको पठनपाठनमा सहज हुनुका साथै शैक्षिक उपलब्धि समेत वृद्धि भएको गाउँपालिको दावी छ । करूवा पत्रिकाबाट साभार









