
पाल्पा । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले आजको समय डिजिटल व्यवसायको भएको बताउनुभएको छ । उहाँले डिजिटल व्यवसायको युगमा व्यापारिक प्रवर्धन केवल प्रचारको माध्यम नभई व्यवसाय विस्तार र दिगोपनको मुख्य आधार भएको बताउनुभएको हो ।
शनिबार पाल्पा व्यापार संघको पुष्पलाल स्मृति भवन, तम्घास रोडमा रहेको कार्यालय शुभारम्भ गर्दै मन्त्री सारुले व्यापार प्रवर्धनमा प्रविधिको उच्चतम प्रयोग गर्दा व्यवसायलाई सीमित भूगोलबाट बाहिर निकाल्दै विश्वव्यापी बजारसम्म पहुँच पु¥याउने बताउनुभयो । जसका लागि संघले व्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि आफ्ना सदस्यहरुलाई सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । व्यापार घाटा कम गर्न र आयातलाई प्रतिस्थापन गर्न निर्यात बढाउन अर्गानिक उत्पादनमा जोड दिनुपर्ने मन्त्री सारुको भनाइ थियो ।
यसका साथै जिल्लाको आर्थिक विकासका लागि एकीकृत व्यवसायिक योजना अनुसार अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । योजनाले व्यवसायलाई दिगो, प्रतिस्पर्धी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउदै मन्त्री सारुले प्रदेश सरकारले उत्पादनका आधारमा अनुदानको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको जानकारी गराउनुभयो । उहाँले पाल्पाको मुख्य उत्पादन ढाका र करुवाको उत्पादनमा कमि आएकोले तीन तहका सरकारसंगको सहकार्यमा संरक्षण र प्रवर्धनको कार्यक्रम संचालन गर्नका लागि संघले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय नसर्ने रोगका बिरामीको संख्या बढ्दो अवस्थामा रहेकोले प्रदेश सरकारले अर्गानिक उत्पादन, मानसिक स्वास्थ्य र दीर्घरोगको उपचारमा लगानी बढाएको स्वास्थ्य मन्त्री सारुको भनाइ थियो । उहाँले नसर्ने रोगको जोखिमबाट बच्न खानपान र जीवनशैली परिर्वतनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।









