पाल्पा व्यापार संघको आठौं साधारणसभा सम्पन्न

पाल्पा । पाल्पा व्यापार संघको आठौं साधार सभा सम्पन्न भएको छ ।

साधारणसभामा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्लाको विकासका लागि एकीकृत व्यवसायिक योजना अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले योजनाले व्यवसायलाई दिगो, प्रतिस्पर्धी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रदेश सरकारले उत्पादनका आधारमा अनुदानको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउदै मन्त्री सारुले पाल्पाको मुख्य उत्पादन ढाका र करुवाको संरक्षण र प्रवर्धनका लागि तीन तहकै सरकारसंगको सहकार्यमा पाल्पा व्यापार संघले नेतृत्व गर्नुपर्ने बताउनुभयो । यसका साथै पछिल्लो समय नसर्ने रोगका बिरामीको संख्या बढ्दो अवस्थामा रहेकोले प्रदेश सरकारले उपचारमा लगानी बढाएको स्वास्थ्य मन्त्री सारुले बताउनुभयो । उहाँले नसर्ने रोगको जोखिमबाट बच्न खानपान र जीवनशैली परिर्वतनमा नागरिकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा उद्योग, व्यापारको अवस्था कमजोर भयो, आर्थिक कारोबार कम भयो भन्ने निसाशावादी सोचप्रति सरकार चिन्तीत रहेको बताउनुभयो । उहाँले तानसेनको विकास कृषि र पर्यटनबाट मात्र सम्भव रहेको एकिन गरेर आवधिक योजना निर्माण गरिएको जानकारी गराउदै तानसेनमा पर्यटकको संख्यामा तुलनात्मक रुपमा वृद्धि रहेको तर आतिथ्यताको स्तर वृद्धिको खाँचो रहेको बताउनुभयो ।

आर्थिक विकास, व्यवसायिक हक–हितको संरक्षण तथा निजी क्षेत्रको प्रवद्र्धनका लागि क्रियाशील रहेको पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बताउनुभयो । उहाँले हाल संघमा आठ सय बढी सदस्यहरु आबद्ध रहेको बताउदै उनीहरुको व्यवसायिक हितमा निरन्तर खटेको बताउनुभयो । जिल्लामा आर्थिक क्रियाकलाप कमजोर हुँदा व्यवसायीहरु पलायन हुने गरेको बताउदै अध्यक्ष कार्कीले यस विषयमा स्थानीय सरकारले व्यवसायी टिकाउने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

देवदह व्यापार संघका निर्वतमान अध्यक्ष कोषबहादुर गुरुङले पाल्पा व्यापार संघले जिल्लाको व्यवसायीहरुको हकहित र आर्थिक विकासमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सरकारको तीन खम्बे अर्थ नीति अन्तरगतको एउटा बलियो खम्बा निजी क्षेत्र रहेकोले सोही अनुसार सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रसका उपसभापति झपेन्द्र गहिरे, नेकपा उमालेका उपाध्यक्ष बिमल काफ्ले, नेपाली कम्युनिष्ट पार्टीका नेता यादवबहादुर रायमाझी, रास्वपाका उपसभापति सुमन गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, संघका संस्थापक अध्यक्ष चिरन्जीवी पोखरेल, निर्वतमान अध्यक्ष बामदेव वस्याल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, युनाइटेड मिसन अस्पतालका निर्देशक डा.रचेल कारखलगायतले शुभकामना व्यक्त गर्दै निजी क्षेत्रलाई चलायमान गराउन स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

साधारणसभा संघका वरिष्ठ उपाध्यक्ष कमल ढकालको स्वागत, महासचिव तुलबहादुर अधिकारीको संचालन तथा अध्यक्ष कार्कीको अध्यक्षतामा चलेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय