रुपन्देहीमा बसोबास गर्ने रिब्दीकोटबासीसँग गाउँपालिकाको अन्तरक्रिया

पाल्पा । रिब्दीकोट गाउँपालिकाले रुपन्देहीमा बसोबास गर्ने रिब्दीकोटबासीसँग छफफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । रिब्दीकोटको समग्र विकासका विषयमा बिहीबार छलफल गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाले पछिल्लो तीन वर्षको अबधिमा गरेका विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायतको क्षेत्रमा गरिएको कामको प्रस्तुति गरिएको थियो । साथै गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा लिजाबाट प्राप्त गरेको उपलब्धि, बेरुजु न्यूनीकरण, कृषि क्षेत्रमा भएको उपलब्धि, सडक, खानेपानी, पूर्वाधार निर्माणलगायतमा भएको उपलब्धि बारे जानकारी गराइएकोे थियो ।

गाउँपालिकाले कृपया नीति अनुसार काम गरेको, म बनाउँछु, मेरो रिव्दीकोट अभियानलाई निरन्तरता दिएको, पालिकालाई आईएसओ प्रमाणीकरणका लागि पहल गरिएको, भित्री सडक सुधारमा प्राथमिकता दिइएको, विगतमा भन्दा कृषिजन्य बस्तु निर्यात बढाएको, ग्रामीण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर संचालन जस्ता गतिविधि गरिएको प्रतिवेदन इन्जिनियर पुरन कार्कीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. १, ख्याहा, वडा नं. २ देउराली, वडा नं. ३ खस्यौली, वडा नं. ४ भैरवस्थान, वडा नं. ५ कुसुमखोला, वडा नं. ६ ठिमुरे, वडा नं. ७, पालुङ्मैनादी र वडा नं. ८ फेकका स्थायी बासिन्दा जो हाल रुपन्देहीमा व्यापार, व्यवसाय, रोजगारमा सक्रिय रहनुभएका बासिन्दाहरुको सहभागिता रहेको थियो ।

सहभागी नागरिकहरुले तुलनात्मक रुपमा आन्तरिक आम्दानी कम भएको गाउँपालिकाले गरेको काम सन्तोषजनक रहेको र अझ धेरै गर्न बाँकी भएको बताएका थिए । उनीहरुले धार्मिक क्षेत्रको जग्गा सुनिश्चित गर्नुपर्ने, पर्यटन क्षेत्रको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने, गाउँ फर्केर व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउनुपर्ने, रिब्दीकोटमा उत्पादित कृषिजन्य बस्तुको विक्री गर्न रुपन्देहीमा हाटबजारको व्यवस्था गनु पर्ने बताएका थिए । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, कृषि उद्यम तथा अन्य क्षेत्रको विकास ध्यान दिनुपर्नेमा सहभागीको जोड थियो ।

सहभागी मध्येका एक ध्रुबबहादुर कुँवरले गाउँपालिका बाहिर बस्ने पालिकाबासीलाई जोड्ने गरी छलफल गरेकोमा पालिकालाई धन्यवाद दिनुभयो । उहाँले पालिकाको विकास निर्माणलगायतमा विकास निर्माणमा सन्तुष्ट हुने स्थान रहेपनि शिक्षा क्षेत्रको नतिजा सुधारमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पालिकाको समग्र विकासका लागि आम नागरिकको सुझाव संकलनका लागि कार्यक्रम गरिएको बताउनुभयो । उहाँले रुपन्देहीमा बसेर पनि पालिकालाई माया गर्ने नागरिकलाई विकास निर्माणमा सहकार्य गर्न र पालिकाप्रति अपनत्व बढाउन कार्यक्रम सफल भएको बताउनुभयो । कार्यक्रममा प्राप्त सुझाव र सल्लाहलाई गाउँपालिकाको स्रोत र साधनको उपलब्धता अनुसार क्रमिक रुपमा कार्यान्वय गर्ने अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसी, वडा अध्यक्षहरु, शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय