प्रहरीलाई डिजिटल सुरक्षा अभिमुखीकरण

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पा र मातहतका प्रहरी चौकीका प्रमुखहरुका लागि डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले आयोजना अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा डिजिटल जोखिम, सुरक्षित इन्टरनेट प्रयोग, सामाजिक सञ्जालमा सुरक्षा र व्यक्तिगत तथ्यांक संरक्षणका विषयमा सहभागीहरूलाई व्यवहारिक रुपमा पत्रकार तथा प्रशिक्षक माधव प्रसाद अर्यालले सहजीकरण गर्नुभएको थियो । उहाँले डिटिजल सुरक्षा पछिल्लो समयमा दैनिक जीवनका लागि जरुरी रहेको बताउनुभयो ।

अभिमुखीकरणले प्रहरीलाई अपराधको पहिचान, विश्लेषण र अनुसन्धान गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र पन्जियार थारुले बताउनुभयो । उहाँले पछिल्लो समय सबैका लागि महत्वपूर्ण विषय बन्दै गएको डिजिटल सुरक्षाको ज्ञान प्रहरी कार्यालय र मातहतका कार्यालयका प्रमुखका लागि उपयोगी र समयसापेक्ष भएको समेत बताउनुभयो ।

अभिमुखीकरणमा अनलाइन ठगी, फिसिङ, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, पासवर्ड व्यवस्थापन, व्यक्तिगत तथा संस्थागत तथ्यांकको सुरक्षा लगायतका विषय महत्वपूर्ण भएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होम प्रकाश चौधरीले बताउनुभयो ।

डिजिटल सुरक्षाबारे सचेतना बढाउने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रममा प्रहरीका सकल दर्जाका ३५ जना सहभागी रहेका थिए । सहभागीहरुले डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र सुरक्षित व्यवहारका विषयमा दिएको प्रशिक्षण प्रभावकारी र उपयोगी भएको बताएका थिए । उनीहरुले डिजिटल सुरक्षा अभिमुखीकरणले आधुनिक र सक्षम प्रहरी बन्न मद्दत गरेको बताउदै अभिमुखीकरणले बदलिँदो डिजिटल युगमा सार्वजनिक सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय