निस्दीको घुम्ती शिविरमा एक हजार ८१८ जनाले लिए सेवा

पाल्पा । निस्दी गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजार ८१८ जनाले सेवा लिएका छन् । नागरिकलाई वडा तहबाटै सेवा प्रदान गर्ने उद्देश्यले मंसिर २८ गतेदेखि पुस ६ गतेसम्म शिविर संचालन गरिएको थियो ।

शिविरमा ६२ योजना सम्झौता, १० ओटा योजनाको पेश्की वितरण, ४ वटा व्यवसाय दर्ता, ६२ वटा व्यवसाय नविकरण, ६३ जनाको माटो परीक्षण, ८ वटा अपांग परिचयपत्र वितरण, २ सय ८४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले बताउनुभयो । उहाँले शिविरमा खसी बोका प्रदर्शनी १२ वटा, पशु स्वास्थ्य औषधि वितरण ८ सय ४९ परिवार, सामान्य स्वास्थ्य परीक्षण १ हजार ७२, औषधि वितरण ९ सय ९८ जनालाई वितरण गरिएको बताउनुभयो । यस्तैगरी २ सय ३२ जनालाई वैदेशिक रोजगार अभिमुखीकरण सेवा, ८ सय १८ जनाको रक्त समूह परीक्षण, २ सय १९ वटा कृषि प्रदर्शनी, ७ सय ९२ जनालाई आयुर्वेद औषधि वितरण, ७ वटा संस्था नविकरण, २ सय १९ वटा भू वर्गीकरण निवेदन प्राप्त भएको, ५४ वटा बौद्धिक प्रतियोगिता संचालन र १ सय ५१ वटा जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चितौरेले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवाहरूलाई नागरिकको घरदैलोमा सहज, सरल र प्रभावकारी रूपमा उपलब्ध गराउन वार्षिक रुपमा एकीकृत घुम्ती शिविर गर्दा नागरिकहरुलाई सेवा लिन सहज हुने गरेको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । उहाँले स्थानीय सरकार नजिकको सरकार भएकोले वडामै पुगेर सेवा दिँदा नागरिकहरुलाई पालिका पुगेर लिनुपर्ने सेवामा खर्चनु पर्ने समय र आर्थिकको बचत हुने गरेको बताउनुभयो ।

सेवाग्राहीहरुको सहजताको लागि सात वटै वडाहरु बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरेमा पुगेर सेवा प्रवाह गरिएको सूचना अधिकारी अर्जुन खनालले जानकारी दिनुभयो । जसमा सेवा लिनका लागि सेवाग्राहीको उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय