ग्रामीण सडक व्यवस्थित गर्न रिब्दीकोटको गौरवका आयोजना

पाल्पा । रिब्दीकोट गाउँपालिकाले ग्रामीण सडकलाई व्यवस्थित र स्तरीय बनाउनका लागि गौरवका आयोजनामार्फत नमूना सडक निर्माण आयोजना सञ्चालन गरिरहेको छ । जस मध्ये गाउँपालिकाको ७ नं. वडा बतासे बजारदेखि डबका सोमहर फेक हुदै तराई संग जोड्ने सडक निर्माण योजनाको काम तीव्र रुपमा भैरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ग्रामीण सडकलाई स्तरोन्नतिसहित व्यवस्थित गर्न बजेट व्यवस्थापन गरी सडक निर्माण र विस्तारलाई प्राथमिकतामा राखेसँगै अहिले ग्रामीण क्षेत्रमा सडक निर्माणको कामले तीव्रता पाएको हो । चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी गाउँपालिकाको गौरवका आयोजना मध्यको बतासे डबका फेक वडा कार्यालय भएर रुपन्देहीको रानीबगियासम्म सडक संजालले जोड्ने गरी प्राथमिकताका साथ कामलाई अगाडि बढाइएको गाउँपालिका अध्यक्ष नाराण बहादुर कार्कीले बताउनुभयो । उहाँले सडक विस्तारले स्थानीय नागरिकको जीवनमा परिवर्तन आउने भएकाले पछिल्लो समय गाउँपालिकाले सबै वडामा सडक सञ्जालको सहज पहुँच पु¥याउने उद्देश्यले आवश्यकता अनुसार गौरवका योजना तयारी गरी कार्यान्वयमा जोड दिएको बताउनुभयो ।

गाउँपालिकाले सडक निर्माण, विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दै आएकोले कामको नियमित अनुगमन र सरोकारवाला निकायसँग समन्वय गर्दै काम अगाडि बढाइएको अध्यक्ष कार्कीको भनाइ छ । पछिल्लो समय स्थानीय तहले सबै वडालाई सडक सञ्जालले जोड्दै गएपछि अहिले यहाँका स्थानीयवासीको जनजीवनसमेत निकै फेरिएको र दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज भएको डबका गाउँका स्थानीय सुर्य कुवँरले बताउनुभयो । उहाँले अहिले घरछेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न समेत निकै सहज भएको बताउनुभयो ।

सडक निर्माणको जिम्मा प्राप्त गरेको रायमाझी कन्ट्रक्सनका निमार्ण व्यावसायी टोप बहादुर रायमाझीका अनुसार सम्झौता अनुसार समयमै काम सक्ने गरी काम भैरहेको बताउनुभयो । उहाँले डबका सोमहर फेक सडकखण्डमा सडक चौडा पारेर रिटेनिङ पर्खाल, ग्याबिन जाली लगाउने, नाली निर्माण लगायतका स्तरोन्नतिको काम भएको जानकारी दिनुभयो । विगतमा निर्माण व्यवसायीको लापरवाहीका कारण सडक निर्माणको कार्यमा केही समस्या उत्पन्न भएपनि अहिले सामान्य समस्या बाहेक प्रायः नियमित जस्तो सडक निर्माणको काम भैरहेको गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख इन्जिनियर पुरन कार्कीले बताउनुभयो । उहाँले रिब्दीकोट गाउँपालिका भित्रका गाउँपालीका गौरवका आयोजना अन्तरगत देउराली बरपोखरा शान्तीचौर हुदै जोगीथुम, भैरवस्थान भारकोट मजुवा हुदै ठिमुरे वडा कार्यालय सम्मका योजनामा निरन्तर काम भएको बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८२।८३ मा काम गर्ने गरी गाउँपालिकाले सडक पूर्वाधार निर्माण अन्तरगतका गौरवका आयोजनाका लागि करिब बजेट विनियोजन गरेको छ । गौरवका योजना गुणस्तरीय र टिकाउ बनाउनको लागि जनप्रतिनिधि, प्राविधिक र स्थानीयको नियमित निगरानी र अनुगमन गर्नुपर्ने नागरिकहरुको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय