
पाल्पा । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्थानीय उत्पादनमा वृद्धि गरी त्यसको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।
देउराली सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड निस्दी–६, अर्चले, पाल्पाको १९ औं वार्षिक साधारणसभामा मन्त्री सारुले ग्रामीण स्तरमा उत्पादन भएका सामाग्रीहरु घट्दै गएकोले अब त्यसको वृद्धि गरी आर्थिक आयमा वृद्धि गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य मानिसको लागि महत्वपूर्ण रहेको बताउदै मन्त्री सारुले खानपिनमा ध्यान दिन सुझाव दिनुभयो । आफू स्वास्थ्य मन्त्री भएपछि स्वास्थ्य बिमालगायत दीर्घ रोगीहरुका लागि सहज वातावरणमा उपचार सेवा प्रदान गर्न लागि परेको समेत बताउनुभयो । मन्त्री सारुले लुम्बिनी प्रदेशमा बालविवाहको दर उच्च रहेको बताउदै निस्दी गाउँपालिकाले गरेको बालविवाह अन्त्य गर्ने अभियानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जमिन बाझो राख्न नहुँने र सहकारीले कृषिमा लगानी गर्न सुझाव दिनुभयो । उहाँले निस्दीले सबै वडाहरुलाई कृषि क्षेत्रको पकेट क्षेत्र घोषणा गरेको बताउनुभयो । जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डेयले उद्देश्य अनुसार कर्जा सञ्चालन गर्न सुझाव दिनुभयो । वडा अध्यक्ष मेख बहादुर सुनारीले सहकारीले सहकार्य गर्न सिकाएको बताउनभयो । उहाँले स्थानीय जनताले बचत गरेको रकमलाई सदुपयोग गर्न जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर सोमैले आर्थिक तथा प्रगति प्रतिवेदनका साथै आगामी वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सेयर सदस्य ६ सय ८४ जना र बचतकर्ता २ सय ५३ जना रहेको सहकारी संस्थाका व्यवस्थापक अर्जुन बयम्बुले ४ करोड १५ लाख ९४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो
कार्यक्रममा उत्कृष्ट राष्ट्रसेवक कर्मचारीको रुपमा गोरखनाथ माध्यमिक विद्यालयका शिक्षिक नेत्र फाल र सिन्दुर आधारभूत विद्यालयकी अनुपा राईलाई सम्मान गरिएका संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुले जानकारी दिनुभयो ।







