
पाल्पा । रम्भा गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती शिविरमा पाँच हजार ४२२ जना लाभान्वित भएका छन् । गाउँपालिकाले वडा तहबाट सेवा प्रवाह गर्ने उद्देश्यले मंसिर २६ गतेदेखि मंगलबारसम्म वडा तहमा एकीकृत घुम्ति शिविर सञ्चालन गरेको थियो ।
नागरिकलाई पायक पर्ने स्थानमा पुगेर आवश्यक सेवा प्रवाह गर्ने गरी गाउँपालिकाले एकीकृत रुपमा शिविर संचालन गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले शिविरमा सबै वडाका नागरिकहरुको उत्साहजन सहभागिता रहेको बताउनुभयो । स्थानीय तहका नागरिकलाई एकै स्थानमा एकीकृत रुपमा सेवा दिँदा सेवाग्राहीको समय, श्रम र खर्च बचत हुनुका साथै गाउँपालिका केन्द्रमा धाउनुपर्ने बाध्यतामा कमि आउने अध्यक्ष भण्डारीको भनाइ छ ।
शिविरमा सबै रोगहरुको जाँच, उपचार, परामर्शर प्रेषण स्वास्थ्य सेवा नौ सय ७४ जनाले लिएका छन् । यस्तैगरी प्रयोगशाला सेवा लिने एक सय १६ जना, एचपीभी डिएनए विधिबाट स्वाव कलेक्सन गर्ने ५८ जना, शंकास्पद क्षयरोगीको खकारको नमुना संकलन ३ जना, पाठेघरको मुखको क्यान्सर भिआइए जाँच गर्ने एक सय २८ जना, पाठेघर खसेकोमा रिङ्ङ्ग प्रेसरी ६ जनाको राख्ने काम भएको स्वास्थ्य शाखा संयोजक शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । यस्तैगरी सेतो पानी बग्ने तथा यौन रोगको उपचार सेवा लिने ५५ जना, परिवार नियोजन साधन आइयुसिडि र इम्प्लान्ट राख्ने तथा झिक्ने ३ जना, गर्भवती लक्षित ग्रामीण भिडियो एक्सरे सेवा लिने १४ जना र जनरल भिडियो एक्सरे सेवा लिने ५ जना रहेको उहाँले बताउनुभयो । शिविरमा आयुर्वेद सेवा अन्तरगत स्तनपान गराइरहेका १७ जना आमाहरुको लागि सतावरी चूर्ण वितरण गरिएको छ । साथै चार सय ७८ जनालाई सबै रोगहरुको जाँच उपचार परामर्श र प्रेषण सेवा दिइएको गाउँपालिकाले जनाएको छ । ६३ जनाले मोतिया बिन्दु निदान भएकाहरुको लागि निशुल्क अप्रेसनको लागि प्रेषण गरिएको छ ।
घुम्ती शिवरमा आठ सय १२ जनाले आँखा जाँच, उपचार परामर्श र प्रेषण सेवा लिएका छन् । यस्तै एक हजार ४१६ जनालाई कृषि प्रविधि सम्बन्धी सल्लाह तथा परामर्श र औषधि वितरण गरिएको छ । नौ सय ८४ जनालाई पशुपंक्षी सम्बन्धी सल्लाह परामर्श र औषधि वितरण, २५ वटा ज्येष्ठ नागरिक परिचय पत्र वितरण, १ वटा अपाडंग परिचय पत्र वितरण, ७३ वटा योजना सम्झौता, ३० वटा व्यवसाय÷टोल विकास संस्था दर्ता नविकरण, सात जनालाई श्रम स्वीकृति र परामर्श सेवा र एक सय ५४ जनालाई विविध सेवा उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो । उहाँले शिविरबाट दुर्गम तथा पिछडिएका समुदायका नागरिकहरूलाई सेवा लिन सहज भएको बताउनुभयो । यसका साथै शिविरले सेवाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सेवाको पहुँच, प्रभावकारिता र विश्वाससमेत बढाउन मद्दत गरेको प्रमुख प्रशासकीय अधिकृत पुनले बताउनुभयो ।









