
पाल्पा । निस्दी गाउँपालिकाले नागरिकलाई एकै स्थानबाट बहुआयामिक सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरेको एकीकृत घुम्ती शिविरमा सेवाग्राहीको भिड लागेको छ । मंसिर २८ गतेदेखि सुरु भएको वडा तहको शिविरमा सेवाग्राहीको बाक्लो उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवाहरूलाई नागरिकको घरदैलोमा सहज, सरल र प्रभावकारी रूपमा उपलब्ध गराउने मनसायले वार्षिक रुपमा एकीकृत घुम्ती शिविर गर्ने गरिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । उहाँले स्थानीय सरकार नजिकको सरकार भएकोले वडामै पुगेर सेवा दिँदा नागरिकको समय र आर्थिक दुबै बचत हुने बताउनुभयो ।
शिविरमा योजना सम्झौता, पेश्की भुक्तानी, व्यवसाय दर्ता, व्यवसाय नविकरण, संस्था नविकरण, माटो परीक्षण, कृषि प्रदर्शनी, अपाङ्गता परिचयपत्र वितरण, ज्येष्ठ नागरिक सम्मान, पशु स्वास्थ्य औषधि वितरण , सामान्य स्वास्थ्य परीक्षण, स्वास्थ्य औषधि वितरण, आयुर्वेदिक औषधि वितरण, वैदेशिक रोजगारी अभिमुखीकरण, रक्त समूह परीक्षण, भू–वर्गीकरणमा छुट प्रयोजनका लागि निवेदन दिनेलगायतका सेवाहरु प्रवाह गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो ।
सेवाग्राहीहरुको सहजताको लागि सात वटै वडामा पुगेर सेवा दिने योजना अनुसार सञ्चालन गरिएको शिविरमा मंगलबार सम्म तीन वटा वडाहरु बाकामलाङ, सहलकोट र झिरुवासका नागरिकहरुले सेवा लिएका छन् । शिविर पुस २ गते बुधबार ४ नं. वडा मित्याल, वडा कार्यालय, पुस ३ गते बिहीबार ५ नं. वडा गल्धा, वडा कार्यालय, पुस ४ गते शुक्रबार ६ नं. वडा अर्चले, वडा कार्यालय र पुस ६ गते आइतबार ७ नं. वडा ज्यामिरे, वडा कार्यालयमा सञ्चालन हुने सूचना अधिकारी अर्जुन खनालले जानकारी दिनुभयो । उहाँले पाएक पर्ने वडामा उपस्थित भएर सेवा लिन समेत सबैलाई आग्रह समेत गर्नुभयो ।









