दमकडा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त

पाल्पा । दमकडा माध्यमिक विद्यालयले तानसेन ९ दमकडाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ लोगो) प्राप्त गरेको छ । विद्यालयलाई सोमबार एक औपचारिक कार्यक्रमकाबीच गुणस्तर चिन्ह हन्तान्तरण गरिएको हो ।

ग्लोबल क्वालिटी काउन्सिलका नेपालका राष्ट्रिय निर्देशक सुदीप शर्माले विद्यालय व्यवस्थापन समितका अध्यक्ष राजेशकुमार अर्याल र प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई लोगो हस्तान्तरण गर्नुभएको हो । उहाँले आवश्यक अन्तर्राष्ट्रिय मापदण्डहरू मध्ये २० प्रतिशत मापदण्ड पूरा गरेको अवसरमा विद्यालयलाई लोगो प्रदान गरिएको बताउनुभयो । दमकडा मावि पाल्पा जिल्लामै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएकोमा बधाई समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले दमकडा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि रचनात्मक रुपमा क्रियाशील रहेको बताउनुभयो । उहाँले नवप्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्न अब्बल रहेको समेत बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको विद्यालय निर्माण गर्ने अभियानमा पनि सूचकहरु पूरा गरी जिल्लामै पहिलो बिन्ने दिशामा अगाडि बढेकोमा नगर प्रमुख श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । उहाँले यस सफलताले स्थानीय शिक्षाको स्तर माथि उकास्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउनका लागि सम्झौता भएको ६ महिनामा निश्चित मापदण्ड पूरा गरेर लोगो प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले बताउनुभयो । उहाँले तीन सय १९ सूचक मध्ये ५१ वटा सूचक पूरा गर्न सफल भएको बताउदै शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालयका शुभचिन्तकको सहयोगमा मात्र अन्तर्रास्ट्रिय शैक्षिक संस्थाका रुपमा प्रमाणित गर्ने सकिने बताउनुभयो ।

समयसापेक्ष प्रविधिमैत्री शैक्षिक अभ्यास, कक्षा कोठाको व्यवस्थापन, भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएर अगाडि बढेको विद्यालयका प्रधानाध्यापक सापकोटाले बताउनुभयो । उहाँले विद्यालयलाई तीन वर्ष भित्र आवश्यक सूचक पूरा गरी अन्तर्राष्ट्रियस्तरको शैक्षिक संस्थाको रुपमा स्थापित गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, विद्यार्थी ओजस्वी आचार्यलगायतले दमकडा माध्यमिक विद्यालयले अरू शैक्षिक संस्था भन्दा अगाडि बढ्दै गुणस्तर वृद्धि अभियानको थालनी गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । उहाँहरुले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विद्यालयमा हुने गतिविधिले विद्यार्थीमा शैक्षिक तथा अतिरिक्त ज्ञान र संस्कारको विकास हुने बताउनुभयो । सोही अवसरमा विद्यालयका शिक्षकहरुलाई सम्मान, विभिन्न प्रतियोगितामा सफल भएका विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति समेत वितरण गरिएको शिक्षक जीवन आर्चायले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय