
पाल्पा । पाल्पामा “आप्रवासी श्रमिक सञ्जाल“ गठन भएको छ ।
अन्तर्रास्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा सञ्जाल गठन गरिएको हो । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट जन्मभूमि फर्किएका व्यक्तिहरूको लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्जाल गठन गरिएको हो ।
तानसेन नगरपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका जिल्लाका दश वटै स्थानीय तहका प्रतिनिधिहरुको सहभागितामा सञ्जाल गठन गरिएको हो । सञ्जालको अध्यक्षमा शर्मिला भाट (तानसेन) चयन हुनुभएको छ । जसको उपाध्यक्षमा उपाध्यक्षमा रामचन्द्र पंगेनी, (रामपुर), सचिवमा रामचन्द्र नेपाल (तानसेन) र कोषाध्यक्षमा विजय कुमार आचार्य (रिब्दीकोट) रहनुभएको छ । त्यस्तै सदस्यहरूमा हरिप्रसाद कँडेल (रम्भा), पदम श्रेष्ठ (रैनादेवी), गणेश राना (माथागढी) दिलबहादुर ढेंगा (पूर्वखोला), निलबहादुर घर्ती मगर (बगनासकाली), कृष्ण बहादुर सुनारी (निस्दी), हर्कबहादुर दिसुवा (तिनाउ) चयन हुनुभएको सञ्जालको लुम्बिनी प्रदेश समिति सदस्य नवराज पन्थीले जानकारी दिनुभयो । यसैगरी तानसेन नगरपालिका स्तरीय समितिको संयोजकमा कपिल पाण्डे चयन हुनुभएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) का लुम्बिनी प्रदेश व्यवस्थापक विजय ठाकुर र प्रतिनिधि जियाउल हकले वैदेसिक रोजगारीलाई सुरक्षित व्यवस्थित कसरी गर्ने, वर्तमान परिवेश, अवसर र चुनौती तथा नेपालमा वैदेसिक रोजगारको प्रभाव विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पाल्पामा वैदेशिक रोजगारीमा जान चाहाने र फर्किएका व्यक्तिलाई के कसरी सहजीकरण गरिन्छ भन्ने विषयमा जिल्ला संयोजक दिनेश घिमिरेले जानकारी गराउनुभएको थियो । सोही अवसरमा आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रामु भुसालले आप्रवासी श्रमिक सञ्जालको आवश्यकताका विषयमा जानकारी गराउनु भएको थियो ।







