
पाल्पा । रम्भा गाउँपालिकाको कार्यालयले वडा तहबाट सेवा प्रवाह गर्ने उद्देश्यले शुक्रबारदेखि एकीकृत घुम्ति शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।
नागरिकलाई पायक पर्ने स्थानमा पुगेर आवश्यक सेवा प्रवाह गर्ने गरी गाउँपालिकाले एकीकृत रुपमा शिविर संचालन गर्न लागेको हो । गाउँपालिकाले वार्षिक रुपमा संचालन गर्दै आएको शिविरको प्रभावकारीतालाई मध्यनजर गरी यस वर्ष पनि शिविरलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले शिविरमा सहभागी भएर धेरैभन्दा धेरै फाइदा लिन अनुरोध समेत गर्नुभएको छ ।
गाउँपालिकाको सेवालाई एकै स्थानबाट उपलब्ध गराउने गरी संचालन हुने शिविर शुक्रबार ४ नं. वडाको हुमिन स्वास्थ्य चौकीबाट शुभारम्भ हुने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो । उहाँले यस्तैगरी शिविर शनिबार ५ नं. वडाको रम्भा माध्यमिक विद्यालय ताहुँमा, आइतबार २ नं. वडाको वडा कार्यालयमा, सोमबार १ नं. वडाको वडा कार्यालय र मंगलबार ३ नं. वडाको पिपलडाँडा स्वास्थ्य चौकीमा चल्ने उहाँले जानकारी दिनुभयो ।
शिविरमा योजना सम्झौता, व्यवसाय दर्ता तथा नविकरण, कृषक समूह दर्ता तथा नविकरण,ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचय पत्र वितरण, चिकित्सकबाट सबै प्रकारका विरामीहरुको जाँच तथा उपचार, आँखा जाँच र मोतिया बिन्दु र जल विन्दुको स्क्रेनिङ, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, रिङ पेसरी राख्ने, आयुर्वेद सेवा, औषधि वितरण सेवा उपलब्ध गराइने अध्यक्ष भण्डारीले बताउनुभयो । यस्तैगरी शिविरमा कृषि, पशुपन्छी, पञ्जिकरण शाखाका सेवाहरु, सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेशन, पुनः श्रम स्वीकृति, अंगभंग क्षतिपूर्ति लगायतका सेवाहरु र प्रधानमन्त्री रोजगार तर्फका कार्यक्रमको सेवा दिइने सूचना अधिकारी सुरज पाठकले बताउनुभयो ।








