हार्थोक–छहरा सडक निर्माणको काम सुरु

पाल्पा । पश्चिम पाल्पाको लाइफ लाइनका रुपमा रहेको हार्थोक–छहरा सडक निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अन्तरगत सडकको निर्माण कार्य सुरु भएको हो । पाल्पाको हार्थोक–छहरा सडकखण्डको रिब्दीकोट क्षेत्रमा करिब ४७ सय मिटरमा यस वर्षदेखि निर्माण कार्य सुरु भएको हो ।

लुम्बिनी प्रदेश सरकारले छ वर्षअघि पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्म पुग्ने दुई सय ९० किमी सडक निर्माण गर्ने घोषणा गरेको थियो । सोही योजना अनुसार चार वर्षदेखि पाल्पाको पूर्वी भेगको रामपुर–आर्यभन्ज्याङ सडकखण्डमा काम भइरहेको छ ।

यातायात पूर्वाधार निर्देशनालय रुपन्देहीका सूचना अधिकारी अरुण गुप्ताले पाल्पाको पश्चिम क्षेत्रमो यो वर्षदेखि काम सुरु भएको जानकारी दिनुभयो । उहाँले यस वर्ष पाँच किलोमिटर ८८० मिटर सडक निर्माण गर्न ठेक्का प्रकृया पूरा गरी काम सुरु भएको बताउनुभयो । सडक निर्माणका लागि १६ करोड ३१ लाख १९ हजारमा एमएस राजेश्वरी–रमानिया–आर एन्ड आर जेभी गुल्मीसँग २०८२ असोज ७ गते ठेक्का सम्झौता भएको सूचना अधिकारी गुप्ताले बताउनुभयो । २०८४ साल असोज २६ गतेभित्र काम सक्ने गरी गौरवको आयोजनाको सम्झौता भएको उहाँको भनाइ छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि रामपुर कपुरकोट आयोजनाको हार्थोक–छहरा खण्डका लागि पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । निर्माण व्यवसायीले अहिले सडक चौडा गर्ने, रिटेनिङ पर्खाल बनाउने, जग निर्माण गर्ने काम गरिरहेको छ ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले लामो समयदेखि जीर्ण रहेको सडकका लागि निरन्तर पहल गरेर अहिले निर्माणको काम सुरु हुँदा अखुसी लागेको बताउनुभयो । अब उहाँले पाल्पाको पश्चिम भेग, अर्घाखाँची र गुल्मीसम्मको यात्रा गर्ने यात्रुलाई सहज हुने बताउनुभयो ।

डेढ दशकअघि तत्कालीन जिल्ला विकास समितिले सदरमुकाम तानसेनदेखि पश्चिम भेग जाने यो सडकखण्डमा तीन मिटर चौडा ओटासिल प्रविधिबाट कालोपत्रगरेको थियो । यस्तै पाल्पाको पूर्वी भेग जाने आर्यभन्ज्याङ–रामपुर सडकमा समेत ओटासिल गरेको थियो । यही सडकलाई प्रदेश सरकारले छ वर्षअघि स्तरोन्नति गर्दै सडक निर्माण गर्ने घोषणा गरेको थियो । यो सडकले लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू जोड्दै गण्डकी प्रदेश र कर्णाली प्रदेशसम्म यातायात पहुँच विस्तार गर्ने छ ।

दश वर्षभित्र काम सक्ने गरी योजना बने पनि बजेट अभावका कारण अधिकांश भागमा काम हुनै बाँकी रहेको छ ।
रामपुर–कपुरकोट सडक अन्तर्गत पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा र सल्यान गरी २९० किलोमिटर सडक निर्माण गर्ने योजना छ । त्यसमध्ये सबैभन्दा बढी १०५ किलोमिटर सडक पाल्पा क्षेत्रमा निर्माण गर्ने योजना रहेको निर्देशनालयले जनाएको छ । यो सडक निर्माण गर्न २० अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय