रिब्दीकोटको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पाल्पा । रिब्दीकोट गाउँपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको हो । बुधबारबाट सुरु भएको प्रतियोगिता २६ गतेसम्म चल्ने छ ।

गाउँपालिकाको २ नं. वडामा रहेको कोहल खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष कार्कीले खेलले मानिसलाई अनुशासित र बौद्धिक बनाउने बताउनुभयो । उहाँले खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्न सकिने बताउनुभयो । खेलाडीहरूलाई खेल खेल्दा अनुशासित, मर्यादित र मेहनतका साथ खेल्न तथा सफलता हासिल गर्न अध्यक्ष कार्कीले शुभकामना व्यक्त गर्नुभयो ।

शुभारम्भ समारोहमा उपाध्यक्ष कान्ता अधिकारीले गाउँपालिका भित्रका खेलाडीहरुले जिल्ला तथा प्रदेश स्तरमा जित हासिल गर्नका लागि अनुशासित रुपमा खेल्नुपर्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सीले प्रतियोगितामा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको र खेलाडीहरु अनुशासित रुपमा खेल्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा अध्यक्ष कार्कीले नवनिर्मित नयाँ कोहल खेलमैदानको उद्घाटन गर्नुभएको छ । करिब चार करोड लगानीमा निर्माण भएको खेल मैदान निर्माणमा सहगोग गर्ने व्यक्तित्वहरुलाई सम्मान व्यक्त गरिएको थियो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सुरु भएको प्रतियोगीतामा सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, युवा तथा खेलकुद विकास समितिका पदाधिकारीहरू, पूर्व जनप्रतिनिधिहरू, कार्यालयका कर्मचारीहरू, सक्रिय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, पत्रकार, सुरक्षाकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा गाउँपालिका भित्रका १४ माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् । उद्घाटन समारोहमा सहभागी विद्यालयका शिक्षक र विद्यार्थी खेलाडीहरूले अतिथि एवम् दर्शकहरूलाई मार्च पास, स्वागत गीत तथा नृत्य प्रदर्शन गरेको शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय