
तानसेन । पाल्पा अस्पताल क्रमिक रुपमा सुधार हुदै गएको पाइएको छ । अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यान्वयको अनुगमन मुल्याँकनको नतिजामा अस्पतालको समग्र अवस्था सुधार हुदै गएको पाइएको हो ।
जनस्वास्थ्य नियमवाली २०७७ अन्तरगत अस्पतालमा हुने सेवा मापदण्डका सात सय २१ सूचकको कुल नौ सय ३९ अंकमा यस वर्ष छ सय २ अंक अर्थात ६७ प्रतिशत अंक प्राप्त गरी अस्पतालको सेवामा सुधार गरेको देखिएको हो । अस्पतालले अघिल्लो वर्ष ६४ प्रतिशत र २०८० मा ५४ प्रतिशत अंक प्राप्त गरेको थियो ।
अस्पतालको अनुगमन मूल्यांकन तथा समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले विशेषज्ञ चिकित्सक सहितको जनशक्ती व्यवस्थापन तथा औषधि उपकरणको आपूर्तिका कारण सरकारी अस्पतालहरुले सेवाग्राहीहरुको विश्वास जित्न सफल भएको बताउनुभयो । उहाँले सक्षम नेतृत्व र व्यवस्थापनको कारण पनि न्यूनतम सेवा मापदण्डमा पाल्पा अस्पताल स्तरोन्नति भएकोमा पाल्पावासीलाई बधाई ज्ञापन गर्नुभयो । प्रदेश सरकार जनताको स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री सारुको भनाइ थियो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका एमएसएस प्रमुख तथा अनुगमन मुल्याँकन समितिका प्रमुख डा.अच्युत शर्मा न्यौपाने पाल्पा अस्पतालाले भौतिक पूर्वाधारको अभावका बिच सेवा प्रवाहको अवस्था सुधार गर्न सक्नु आफैमा सकारात्मक पक्ष रहेको बताउनुभयो । अनुगमन प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख डा.शर्मा न्यौपानेले तुलनात्मक रुपमा अस्पतालको अवस्था सुधार भएपनि आवश्यकता अनुसार थप सुधार गर्नुपर्ने विषय राख्नुभएको थियो । अस्पताले वार्षिक योजना निर्माण, सामाजिक परीक्षण, लाइव्रेरी व्यवस्थापन, गोपनियता, भर्ना दरमा वृद्धि, विशेषज्ञ चिकित्सकको व्यवस्थापन, आर्थिक व्यवस्थापन, पूर्वाधार विकास, शल्यक्रिया र कुरुवाघर व्यवस्थापन, एम्बुलेन्स र शव वाहनलगायतका क्षेत्रमा सुधार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड राजेन्द्र पौडेलले अस्पतालको अवस्था र सेवा प्रवाहका विषयमा जानकारी गराउनुभयो । उहाँले उपलब्ध भौतिक संरचना र जनशक्तिबाट स्तरीय सेवा दिन आफूहरु क्रियाशील रहेको बताउनुभयो । अहिले ५ जना विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको र दैनिक पाँचदेखि ६ सयसम्म विरामी उपचारका लागि आउने गरेको डा.पौडेलले बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रा गहतराजले अस्पतालको विकासमा प्रदेश सरकारबाट बजेटको अभाव हुन नदिने बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले सेवा सुधारमा स्वास्थ्यकर्मी तथा कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । अस्पतालको पूर्वाधार निर्माणमा जग्गाको व्यवस्थापन गर्नका लागि आफूहरुले काम गरिरहेको बताउदै अध्यक्ष कर्माचार्यले नागरिकको अस्पतालमा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, अस्पताल विकास समितिका पूर्व अध्यक्षहरु गुराँस आत्रेय, डा.पुरनमान बज्राचार्य, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेनालगायतले अस्पतालको सेवा सुधार हुनु राम्रो भएको बताउदै थप सुधारका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।








