बालविवाह मुक्त पालिका बनाउन तिनाउको सक्रियता

पाल्पा । तिनाउ गाउँपालिका बालविवाह मुक्त पालिका बनाउनका लागि सक्रियाता बढाएको छ । गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको पालिका बनाउन आवश्यक सूचकहरु पूरा गर्न योजनाबद्ध रुपमा सक्रियाता देखाएको हो । जस अन्तरगत सोमबार बालविवाह तथा बालश्रम अन्त्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

कार्यक्रमममा सहभागी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, जनप्रतिनिधि, महिला तथा बालबालिका र सरोकारवालाहरुले बालविवाह मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । गाउँपालिकाले बालबालिका र समुदायको समग्र विकासका लागि विभिन्न सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बालविवाह नगर्ने प्रतिवद्धता सहित हस्ताक्षर स्रकलनलगायतका समुदायस्तरमा जनचेतना कार्यक्रम गरिरहेको बताउनुभयो । बालविवाहले पढाइमा बाधा, स्वास्थ्यमा असर र लैंगिक हिंसाका घटना बढ्ने भएकाले यसलाई रोक्न सामाजिक र कानुनी प्रयास आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

बालविवाह र यसको कानुनी कारबाही बारे जनचेतना फैलाउन सडक नाटक सञ्चालन गर्ने, कानुनी व्यवस्था बारे जानकारी गराउने, स्थानीय रेडियोबाट सन्देश प्रवाह गर्ने जस्ता काम गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो । उहाँले बालविवाहका घटनाको कानुनी उपचार र प्रोत्साहन गर्ने विरुद्ध हुने दण्डका विषयमा जनचेतना फैलाउने काम भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र पंजियार थारु र जिल्ला अदालत पाल्पाका इजलास अधिकृत रामचन्द्र खनालले सहजीकरण गर्दै बिस वर्षमाथि विवाह गर्नेलाई पुरस्कार तथा सम्मान गर्ने व्यवस्था, बालविवाह गर्ने जोडीको परिवारलाई गाउँपालिकाको सेवा र सुविधा रोक्का, प्रत्येक विद्यालयको वार्षिक कार्ययोजनामा बालविवाह विरुद्धका कार्यक्रमहरू समेट्ने, बालविवाह विरुद्ध अभिभावकलाई सचेतना प्रदान गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्यले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि संघीय सरकारले आवश्यक नीतिगत तथा कानुनी प्रबन्ध गरेको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय तह घोषणाका लागि पूरा गर्नुपर्ने सूचक मध्येको एक बालविवाह पनि रहेकोले यसको अन्त्यका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय